
लामो र तिक्ततापूर्ण प्रचार अभियानको अन्त्य गर्दै रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प तथा डेमोक्र्याटिक उम्मेदवार हिलरी क्लिन्टनले अमेरिकी मतदाता समक्ष आफुलाई जिताउन आह्वान गरेका छन्।
मिशिगन राज्यमा स्थानीय समय अनुसार मध्यरातमा सम्बोधन गर्दै ट्रम्पले मतदाताहरुलाई राजनीति नै परिवर्तन गर्ने जीवनमा एक पल्ट आउने अवसर छोप्न भनेका छन्।
उनले मतदाताहरुलाई विगतमा गुमेका रोजगारका अवसर फिर्ता ल्याउने वाचा गर्दै अमेरिकी सरकारमा इमानदारी स्थापना गर्ने बताए।
त्यस्तै नर्थ क्यारोलाइना राज्यमा आफ्नो अन्तिम प्रचार र्याली सम्बोधन गर्दै क्लिन्टनले अमेरिकालाई पर्खाल होइन पुल बनाउन खाँचो भएको बताइन्। ट्रम्पले मेक्सिकोसंगको सीमा क्षेत्रमा पर्खाल बनाउने भनी गरेको टिप्पणीको जवाफमा उनले त्यसो भनेकी हुन्।
अन्तिम प्रचार र्यालीहरुमा उनले आफुले अमेरिकालाई बलियो र स्थिर नेतृत्व प्रदान गर्ने बताइन्।
पछिल्ला मत सर्वेक्षणहरुले ट्रम्पभन्दा क्लिन्टन केही प्रतिशत अंकले अगाडि रहेको देखाएका छन्।
Image copyrightAFPमतदान शुरु हुनु अघिका दिनहरुमा दुवै उम्मेदवारले निर्णायक हुने ठानिएका केही राज्यहरुमा आफ्ना प्रचार केन्द्रित गरेका थिए। -वीवीसी नेपाली







