काठमाडौं–मधेशी मोर्चाका नेता एवम् तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले अंगीकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, सुरक्षा निकायको प्रमुख र संवैधानिक अंगको प्रमुख बनाउने माग मोर्चाको नभएको प्रष्ट पारेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता यादवले अंगीकृत नागरिकलाई देशको कार्यकारी प्रमुख, सुरक्षा अंगको प्रमुख र संवैधानिक अंगको प्रमुख बनाउने माग मोर्चाले गर्यो भनेर अफवाह फैलाईएको बताउँदै भने,‘यो हाम्रो माग होईन, हामीले भनेका पनि छैनौं, हुनुपनि हुँदैन, कसेले के भनेको छ हामीलाई थाहा छैन, हामी अंगीकृत नागरिकलाई देशको कुनै पनि महत्वपूर्ण पदमा पुर्याउने पक्षमा छैनौं, मधेशी मोर्चा त्यसको पक्षमा कहिल्यैपनि छैन् ।’
‘हाम्रो आन्दोलनलाई कमजोर पार्न र एकतालाई तोड्नको लागि यो अफवाह फैलाईएको हो, यो कुरा हामीलाई मान्य छैन’ उनले भने ।
यादवले यस्तो अफवाह फैलाएर मधेशीलाई बद्नाम गराउन षडयन्त्र गरिएको समेत आरोप लगाए । यद्धपी उनले अन्तरिम संविधान अनुसार नै नागरिकताको विवाद सम्बोधन हुनुपर्नेमा जोड दिए ।
उनले संविधान संशोधन अनिवार्य आवश्यकत्ता रहेको बताउँदै आफूहरुले अघि सारेको २६ बुँदे मागको आधारमा संशोधन हुनुपर्ने जिकिर गरे
प्रदेशको सिमांकनको विवाद समाधानको लागि अहिले विभिन्न तर्क तथा विकल्पहरु अघि सारिएकोप्रति टिप्पणी गर्दै यादवले भने,‘यदि झापा, मोरङ् र सुनसरी, कैलाली र कञ्चनपुरलाई मधेश प्रदेशमा राखौं भन्दा जनमत संग्रह हुनुपर्छ भनेर माग गर्ने हो भने, अहिलेको ७ प्रदेश र हामीले माँग गरेको १० प्रदेशमा पनि जनमतसंग्रह हुनुवर्छ ।’
उनले आफूहरुले भूमि र पहिचानको लागि संघर्ष गरेको भन्दै आफूहरुले भनेजस्तै गरि संविधान संशोधनमार्फत मागहरु पूरा हुनुपर्ने जिकिर गरे । यादवले गठबन्धनले दिएको १५ दिने म्यादभित्रपनि संविधान संशोधन प्रस्ताव संसदमा दर्ता नभए सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जाने चेतावनी दिए ।
प्रमुख प्रतिपक्षी दल एमालेलाई देखाएर सत्तारुढ दलले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराउन ढिलासुस्ती गरेको आरोप लगाउँदै यादवले भने,‘एमालेलाई कुर्नुपर्दैन, एमाले जिम्मेवार पार्टी हो, एमाले सहमतिमा आउँछ भन्नेमा हामी पुर्ण विश्वस्त छौं, समस्या काँग्रेसभित्र छ, काँग्रेस अलमलमा छ ।’
उनले विगतमा धेरै पटक उधारोमा सम्झौता भएकोले ती सम्झौताहरु कार्यान्वयन नभएकोले यसपटक तीन बुँदे सम्झौता पूरा गराएरै छोड्ने स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2025 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost
