सुधा देव
राजविराज । गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा १५ दिनदेखि संचालनमा रहेको मिनि ल्याब गर्न आउने अधिकांश सेवाग्राही सन्तानको रहर पुगेर भन्दा पनि निःशुल्क सेवा पाएर गर्न आएको सेवाग्राहीहरुले बताए ।
सप्तरी डाढा गाविसकी ४ सन्तानकी आमा जितो देवी सरदारले भनिन्– ‘‘दुई महिनाको छोरालाई अस्पतालमा ल्याएर परिवार नियोजन गर्नु कहाँ सोचेको थिए । निःशुल्क हुन थालेको थाहा पाएर गर्न आएकी छुँ । हामी गरिबले पैसा तिरेर कहाँबाट परिवार नियोजन गर्न सक्छौं भन्दै दुखेसो पोखिन् ।
सोही गाविसबाट मिनि ल्याब गर्न आएकी अर्की पाँच सन्तानकी आमाले भनिन्– ‘‘सन्तानको रहर पुगर भन्दा पनि निःशुल्क हुने भएकोले परिवार नियोजन गर्न आएकी हुँ ।
सन्जुदेवी सरदारले पनि चार जना छोरा छोरी पाउन्जेल निःशुल्कको बारेमा जानकारी नै नपाएर परिवार नियोजन गर्न नसकेको बताउँदै उनले थपिन्– ‘‘अहिले निःशुल्क हुने थाहा पाएर आएकी छु ।
उनीसँगै आएकी उनको आमाले भनिन्छ– ‘‘जति सन्तानलाई यो संसारमा आउनु लेखेको त्यति आउँछ नै त्यसलाई कसैले रोक्न सक्दैन् ।
आफ्नी श्रीमतिलाई परिवार नियोजन गराउन आएका राम प्रसाद रामले भने दलित समुदायका अधिकांशलाई परिवार नियोजनको विषयमा थाहा पनि छैन् । बढी पैसा लाग्छ भनेर अन्य तिर गराउन पनि जाँदैनन् । अहिले पनि यस समुदायमा औसतमा चार जना भन्दा बढी नै सन्तान जन्माउने गरेको पाईन्छ ।
सप्तरी लालापट्टी गाविसकी ठकनी देवी खंगले भनिन्– ‘‘अस्थायी परिवार नियोजनको साधन सम्बन्धमा पनि हाम्रो समुदायले जानकारी लिन पनि खोज्दैनन् । स्वयमसेविकासँगै कसै मार्फत जानकारी पाएपनि बुझ्नेले पनि विश्वास गर्न खोज्दैनन् भने अधिकांशले यस विषयमा चासो पनि देखाउँदैनन् । यस्ता समस्या भनेको नपढे लेखेका ग्रामिण स्तरका विपन्न दलित समुदायमा बढी देखिएको खंगको गुनासो रहेको छ ।
यस सम्बन्धमा उपस्थित महिलाहरुले परिवार नियोजनको अस्थाई साधन समेत प्रयोग नगरेको बताए । परिवार नियोजन गराउन आउने अधिकांश महिलाको काँखमा स–साना बालबालिका थिए ।
यसपालि अहिलेसम्मको डाटा अनुसार मिनिल्याब गराएका अधिकांश सेवाग्राही दलित समुदाय रहेको अस्पतालमा नाम दत्र्ता गर्ने कर्मचारी उदय साहले बताए ।
दलित समुदाय खासगरी विपन्न हुने भएकोले नै निःशुल्क सेवा पाएपछि सन्तानको रहर पुगेर भन्दा पनि निःशुल्क सेवा लिन आउने गरेको दलित अगुवाहरु बताउँछन् ।