काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा महासंकटमा फस्ने देखिएको छ । देउवाको कार्यशैली ठिक नभएको भन्दै कांग्रेस पदाधिकारीहरु रुष्ट बन्दै गोप्य भेलामा लागेपछि कांग्रेस सभापती महासंकटमा फस्ने देखिएको हो ।
वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरु महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा छलफलमा व्यस्त छन् । सभापतिमा निर्वाचित देउवाले कार्यसमितिलाई पूर्णता दिन नसकेको तथा विधान अनुसार चल्न नसकेकोमा उनीहरु असन्तुष्ट बनेका हुन् ।
पार्टीमा कुनै संरचना नबनाइकन भाँडभैलोमा लैजान लागेकाले त्यसबारे छलफल बसेको एक नेताले बताए । यस्तै महामन्त्रीले आउँदो साता असन्तुष्ट पक्षको वृहत गोप्य भेला राजधानीमै राख्न लागेको स्रोतले बतायो । रामचन्द्र पौडेललाई हराउँदै देउवा ०७२ चैत ४ मा पार्टी सभापतिमा निर्वाचित भएका थिए ।
पार्टी पदाधिकारीसँगै उनले ११ महिनामा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने प्रवक्ता समेत तोक्न सकेका छैनन् । निर्वाचित पदाधिकारी वा निर्वाचित केन्द्रीय सदस्य वा मनोनीत केन्द्रीय सदस्यमध्ये जो कसैलाई यो जिम्मेवारी दिन सकिन्छ । तर उनले भरलाग्दो प्रवक्ता समेत आफ्नै पाउन सकेका छैनन् ।
देउवाले कांग्रेसका प्रभावशालि नेता खुमबहादुर खड्कालाई समेत बाइपास गदैं आएका छन् भने अहिले कांग्रेसमा हिन्दुत्वको कुरा उठेतापनि सम्बोधनमा चासै देखाएका छैनन । यसैकारण पनि देउवाको कांग्रेस भित्र पछिल्लो समय निकैनै आलोचना हुन थालेको छ ।