रानीशर्मा तिवारी
पृथ्वीको गर्भमा रहेको अत्यधिक तापयुक्त तरल लावामाथि जब चौतर्फी दबाव पर्छ । दबाव थेग्न नसक्ने अवस्थामा पुगेपछि पृथ्वीको सतह फुटाएर बाहिर निस्कन्छ, जसलाई ज्वालामुखी विस्फोटन भनिन्छ । ज्वालामुखी फुट्न तयार रहेको अवस्थालाई सकृय ज्वालामुखी भनिन्छ । ज्वालामुखी जब विस्फोट हुन्छ, त्यसले पृथ्वीको सतहमा रहेको सम्पूर्ण प्राकृतिक र मानवनिर्मित संरचना ध्वस्त पारी दिन्छ । त्यति बेला लावामाथि दबाब दिने नदिनेको पहिचान गर्दैन, र गर्न पनि सक्दैन, बाहिर निस्केको आक्रोशित लावाले ।
ठुला ज्वालामुखीले बस्ती, मानव, प्राणी र बनस्पती सबैलाई समाप्त पारी दिन्छ । सयौं वर्षसम्म त्यस स्थानमा कुनै सभ्यता वा संरचना स्थापित हुन सक्दैन । बाहिर निस्केको लावा सेलाउन निकै समय लाग्छ । पृथ्वीको सतहभित्रको लावालाई जस्तै कुनै क्षेत्र वा समुदायमाथि अत्यधिक दबाब पर्यो र उसलाई पेल्दै लगियो भने बिस्फोटन हुन्छ, जसले समाज र देशलाई तहस नहस बनाइदिन्छ ।
यस्ता कैयौं उदाहरण विश्वमा पछिल्लो केही दशकमा देखिएको छ । हरेकको दबाब सहने एउटा सीमा हुन्छ, चाहे त्यो लावा होस् वा मानव । दबाब थेग्न नसकेपछि विस्फोटन हुनु प्राकृतिक नियम हो । तर दबाबका कारण विस्फोट भयो भने त्यसबाट हुने क्षतिको अनुमान गर्न सकिँदैन र त्यसको असर दीर्घकालसम्म रहन्छ ।
मधेश अहिले दबाब थेग्न नसकेर बाहिर निस्कन बाध्य हुँदै गएको अवस्थामा पुग्न थालेको छ । अर्थात मधेशमा ज्वालामुखी सक्रिय हुँदै गएको छ । गोर्खा राज्यको अधिनमा मधेश आएदेखि नै विभदको प्रारम्भ भएको हो । ऐतिहासिक दस्तावेजहरूले मधेशको भूमिको अधिकांश भाग अंग्रेजहरूले उपहार स्वरूप विभिन्न कालखण्डमा गोर्खाली शासकहरूलाई बुझाएको पुष्टि गरिरहेको दावी विभिन्न विद्वानहरूले गरेका छन् ।
मधेश नेपालमा गाभिएपछि शासकहरूले मधेशको जमिन, जंगल र मानव संशोधनको व्यापक दोहन त गरे, तर त्यहाँका धर्म, भाषा, संस्कृतिको विकास गर्नुको सट्टा उल्टो मधेशको धर्म, भाषा, संस्कृतिलाई समाप्त पार्नमा लागे । प्रशासनदेखि राजनीतिक ओहदामा समेत मधेशका समुदायको उपस्थिति नगण्य नै रह्यो ।
मधेशमा बोलिने सम्पर्क भाषा हिन्दी र मातृ भाषाहरू थारू, मैथिली, बज्जिका, भोजपुरी, अवधी, संथाली, उर्दु लगायतकालाई नेपालको भाषासरह व्यवहार नै गरिएन । राजधानी लगायतका पहाडि स्थानमा मधेशी समुदायलाई अपमानजनक व्यवहार गर्ने गरेको पनि इतिहास धेरै पुरानो छैन । मधेशका रैथाने बासिन्दाहरूलाई आफ्नै भूमिमा विदेशीसरह व्यवहार लगातार भइरह्यो ।
राज्य र शासकवर्गको व्यवहारबाट आजित भएका मधेशी जनताको संगठित भई अधिकारका लागि लड्ने चाहनाले २०१५ सालबाट २०४७ साल हुँदै २०६३÷६४ सालको मधेश विद्रोहमा मूर्त रूप लियो । यसअघि दुई वटा (२०५० पुष ५ गते ४ बुँदे र २०५५ कार्तिक २६ गते ३ बुँदे) सम्झौता गजेन्द्र नारायण सिंहको तात्कालीन नेपाल सद्भावना पार्टीसँग राज्यले गरिसकेको थियो । तर पालना भएको थिएन । २०६३÷६४ सालको मधेश विद्रोहको परिणाम स्वरूप राज्यले दुई पटक मधेश ँग सम्भौता गर्यो ।
दोस्रो संविधानसभाबाट संख्या बलको दुरूपयोग गर्दै मधेशको भावनाको प्रतिकुल र राज्यले मधेशसँग पटक–पटक गरेका सम्झौता विपरीत हुने गरि संविधान जारी गर्ने तयारी बढ्दै गएपछि मधेशमा २०७२ साल श्रावणको तेस्रो साताबाट आन्दोलन शुरू भयो । मधेशमा आगो बलिरहँदा र दर्जनौं मधेशीको छाती र टाउकोमा गोली हानेर राज्यले हत्या आतङ्क मच्चाइरहेको अवस्थालाई नजरअन्दाज गर्दै २०७२ साल आश्विन ०३ गते संविधान जारी मात्र गरिएन मधेशी शहिदको लाशमाथि दिपावली गर्ने काम समेत राज्यले गर्यो ।
मधेशका जिल्लाहरूमा आन्दोलनको दौरान भएका भनिएका विभिन्न घटनामा झुठा मुद्दा लगाएर मधेशी मोर्चाका नेता कार्यकर्ता मात्र होइन आममधेशी युवालाई गिरप्mतार गरेर चलाइएको मुद्दा पटक पटकको आश्वासनका बावजुद सरकारले फिर्ता लिएको छैन ।
वार्ताको वातावरणलाई सहज बनाउन लचकता देखाइरहेको मधेशी मोर्चाको यस व्यवहारलाई कमजोरी ठाने जस्तो व्यवहार सरकारतर्फबाट प्रदर्शित भइरहेको छ । अधुरो संविधान संशोधनको प्रस्ताव पनि विभिन्न बहानामा संसदमा अड्काइएको छ । संविधान संशोधनको सट्टा निर्वाचनको बाँसुरी बज्न थालेको छ । आममधेशी जनसमुदायमा सरकार र सत्ताधारी समुदायप्रतिको निराशा र वितृष्णा बढ्दै गएको छ । मधेश शान्त देखेर मधेशी मोर्चालाई पेलेर अगाडि जान खोजे त्यसको परिणाम गम्भीर हुन सक्छ । पछिल्लो समय मधेशलाई देश अलग बनाउने वा स्वतन्त्र मधेश राष्ट्र बनाउने नाममा मधेशको विभिन्न स्थानमा भइरहेको सभाहरूमा आममधेशीहरूको उल्लेख्य उपस्थिति देखियो । यस्ता सभामा बढ्दै गएको जनसहभागिताले मधेशमा नेपालभित्र मधेश र मधेशीेले अधिकार र सम्मान प्राप्त गर्ने कुरामा आममधेशीको विश्वास कमजोर हुँदै गएको पुष्टि गरिरहेको छ ।
जब पटक पटकको सम्झौता रद्दीको टोकरीमा राज्यले फाल्न थाल्छ, जब राज्य षड्यन्त्रपूर्वक भेदभाव जारी राख्न उद्दत हुन्छ । आमजनतामा असन्तोष बढ्नु स्वाभाविक हुन्छ । संविधान संशोधनमा भइरहेका ढिलाई, संविधानमा मधेशको भाषा र संस्कृतिको यथोचित सम्मानको स्थिति सिर्जना नहुनु, मधेश प्रदेश स्थापनाको नाममा परम्परागत सत्ताधारी वर्ग÷पार्टीहरू उदासीन हुनु, विभिन्न बहानामा प्रदेशहरूलाई अधिकारविहीन राख्ने षड्यन्त्र इत्यादिका कारण मधेशका आमजनता, बुद्धिजीबी, विद्यार्थी लगायतमा नैराश्यता छाएको छ ।
जब जब अत्याचार, भेदभाव र शोषण बढ्न थाल्छ, त्यहाँ विद्रोह हुनु स्वाभाविक हुन्छ । विद्रोह सही वा गलत कुनै पनि दिशामा जान सक्छ । यसको विपरीत जहाँ सम्पूर्ण भुगोल र राष्ट्रियताका लागि समान अवसर र सम्मान हुन्छ, त्यस्ता राष्ट्र अझ सबल र एकत्रित हुन्छन् ।
मधेशले राज्यबाट मूलभूत रूपमा आप्mनो राष्ट्रियताको पहिचान खोजिरहेको छ । यसलाई केलाएर हेर्दा मधेशले राज्यको हरेक क्षेत्रमा आप्mनो उपस्थिति खोजेको छ । अझ बुँदागत रूपमा भन्दा पहिचान, पहुँच र प्रतिनिधित्व खोजेको छ । मधेशले नेपाल राज्यको राष्ट्रियता भित्र आप्mनो राष्ट्रियता पनि झल्कोस् भन्ने चाहेको छ । नेपालको भाषिक पहिचानमा आप्mनो पनि भाषा खोजेको छ, नेपालको राज्य संचालनको हरेक अङ्गमा आप्mनो पनि अनुहार खोजेको छ, आप्mनो भूमिमा आप्mनै शासन, प्रशासन भएको प्रदेश (नेपालभित्र) चाहेको छ ।
अर्को शब्दमा भन्दा मधेशले नेपालमा आप्mनो समान र सम्मानजक हिस्सेदारी रहेको कुरामा आश्वस्त हुन चाहेको छ । जुन उसको अधिकार पनि हो । तर त्यस अधिकारको मागलाई लत्याएर जसरी राज्य अगाडि बढिरहेको छ यसले राज्यलाई विखण्डन र विग्रहमा लैजाने खतरा बढ्दै गएको छ ।
सरकारको व्यवहारले मधेशको धैर्यता टुट्दै गएको छ । मधेशमा ज्वालामुखी विस्पोटन हुनु अगाडिका लक्षणहरू अर्थात ज्वालामुखी सक्रिय हुँदै गएको संकेतहरू देखिन थालेका छन् । मधेशको धैर्यता समाप्त भई ज्वालामुखी विस्फोट भएमा त्यसले कुन रूप लिन्छ र त्यसले देशलाई कहाँ पु¥याउँछ अनुमान नै गर्न सकिँदैन ।
त्यसैले मधेशमा ज्वालामुखी विस्फोट हुनुअगावै बुद्धिमत्तापूर्ण ढङ्गबाट मधेशमाथिको दबाब कम गर्न अर्थात मधेशका असन्तुष्टीहरूलाई सम्बोधन गर्न राज्य अग्रसर भएन भने मधेशको आक्रोश र असन्तुष्टीले अन्ततः मधेश, पाहाड र हिमाल मात्र होइन सिङ्गो देशलाई नै अपुरणीय क्षति हुनसक्छ ।
(तिवारी तमसपाका केन्द्रीय उपाध्यक्ष हुन् ।) (मधेश दर्पण फिचर सेवा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको