२०७४- सहकारी संस्था दर्ता गर्न सेवाग्राहीसँग घूस लिएको रकमसहित अख्तियार टोलीले लहानस्थित सहकारी डिभिजन कार्यालयका सहकारी सहायक निरीक्षकलाई बुधबार कार्यालयबाटै पक्राउ गरेको छ ।
रकम लिएर संस्था दर्ता गर्न राजी भएका सहकारी सहायक निरिक्षक सुभाष गड्तौलालाई बुधबार घूस रकमसहित अख्तियार टोलीले पक्राउ गरेको हो । गड्तौलालाई आयोगको पूर्वाञ्चल क्षेत्रीय कार्यालयको टोलीले १५ हजार रुपैयाँ घूस रकमसहित पक्राऊ गरेको हो ।
गड्तौलाले राजबिराजस्थित योग्य कृषि महिला सहकारी संस्था लिमिटेड दर्ता गर्न आएकी संस्थाकी अध्यक्ष प्रतिमा यादवसँग रकम लिएका थिए । प्रतिमासँग लिएको रकम अख्तियारको टोलीले कार्यालयको तेस्रो तलामा रहेको गड्तौलाको निवासबाट बरामद गरेको थियो ।
टोली प्रमुख डिएसपी रमेश बस्नेतले गड्तौलाले सेवाग्राहीसँग घूस लिएर राखेको सूचना पाएपछि उनको निवासबाटै घूसको रकम बरामद गरेको जानकारी दिए । ‘पहिले सोध्दा घूस लिएको छुइन भनेर गड्तौलाले जवाफ दिएका थिए’ उनले भने ‘तर पछि उनको निवासबाट बरामद गरेपछि घूस रकम लिएको स्वीकारे ।’ अख्तियारको हिरासतमा राखेर उनलाई मुद्दा चलाइने उनले जानकारी दिए ।
पीडित सेवाग्राही प्रतिमा यादवले आफूले दुई महिनादेखि संस्था दर्ता गर्न फाइल पेस गर्दा पनि डिभिजन सहकारीका सहायक निरीक्षक सुभाष गड्तौलाले यो मिलेन त्यो मिलेन भनेर दु:ख दिइरहेको गुनासो गरिन् । ‘पछि १५ हजार रुपैयाँ दिए संस्था दर्ता गराइदिन्छौं भनेपछि हामीले रकम दियौं’ उनले भनिन् ‘दिएको रकम राखेपछि अकास्मात अख्तियारको टोली आएर गड्तौलालाई हामीले दिएको रकमसहित पक्राऊ गर्यो ।’