संतोष चौधरी
राजविराज । नेपाल सरकारले रक्षा बन्धन पर्वका अवसरमा साउन २३ गते सोमबार सार्वजनिक विदा घोषणा गरेको छ । रक्षा बन्धन पर्व मनाउन सरकारले सोमबार विदा दिने नादिने विषयमा राति अवेरसम्म संशय बनेको थियो । तर बिहान प्रसारित समाचारले उक्त संशय हटाएको छ ।
सोमबार श्रावणी सोमबार, रक्षा बन्धन, पूर्णिमाका साथै चन्द्र ग्रहणको अवसर पनि जुटेको छ ।
श्रावणी पूर्णिमा जनै पूर्णिमा तथा रक्षा बन्धनको रूपमा प्रचलित छ । यस पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिँदै आएको छ । तर यस वर्ष सो दिन चन्द्र ग्रहण परेकोले नेपालको पञ्चाङ्ग समितिले सो दिनलाई अशुद्ध मानी जनै पूर्णिमा साउन १३ गते पञ्चमीका दिन मनाउने गरी सार्वजनिक विदा समेतका लागि सिफारिस गरे बमोजिम सरकारले श्रावणी पूर्णिको सार्वजनिक विदा सोही दिन घोषणा गरेको थियो । साउन १३ गते नाग पञ्चमी पर्व समेत थियो ।
तर मधेशमा श्रावणी पूर्णिमा जनैपूर्णिमाभन्दा रक्षा बन्धनको रूपमा मनाइन्छ । यस पर्वको कनेक्सन आठ दिनपछि मनाइने श्री कृष्ण जन्माष्मीसँग समेत रहेको छ । यसका लागि पूर्णिमाकै दिन भूmलनोत्सव समेत शुरु हुने परम्परा छ । यस प्रकार मधेशमा रक्षा बन्धनको विशिष्ट महत्व छ ।
मध्यदेशीय चाडपर्वहरू नेपाली पञ्चाङ्ग समितिको अनुसार नभई मिथिला पञ्चाङ्गको आधारमा मनाइने परम्परा छ । यसै कारणले फागु पर्व नेपालमा दुई दिन मनाइने गरेको पाइन्छ । नेपाली पञ्चाङ्ग अनुसार अघिल्लो दिन काठमाडौं उपत्यकालगायत पहाडी इलाकामा र मिथिला पञ्चाङ्ग अनुसार पछिल्लो दिन तराई मधेश इलाका फागु पर्व मनाइन्छ । अघिल्लो दिन यहाँ होलिका दहन गरिन्छ, जो पहाडी इलाकाको फागु पर्वमा सामेल गरिएको छैन । फागु पर्वको सांस्कृतिक आख्यान भगवान्को नरसिंह अवतारसँग गाँसिएको छ ।
राजविराजस्थित मैथिली साहित्य परिषद्द्वारा प्रकाशित वार्षिक कैलेण्डरमा समेत चन्द्रग्रहणको योग भउ पनि रक्षा बन्धन साउन २३ गते नै मनाइने उल्लेख छ । तर साउन २३ गते सार्वजनिक विदा नहुँदा तराई मधेशमा तीव्र प्रतिक्रिया उत्पन्न भएको थियो । उक्त प्रतिक्रिया स्वरूप मैथिली साहित्य परिषद राजविराका अध्यक्ष अशोक कुमार झाको नेतृत्वमा गएको एक टोलीले नेपाल सरकारको नामको विज्ञप्ति सप्तरी जिल्ला प्रशासन कार्यालयलाई साउन १२ गते नै बुझाएको थियो । पछि तराई मधेश राष्ट्रिय परिषद्द्वारा गृह मन्त्रालयमा रक्षाबन्धनको लागि श्रावण २३ गते सार्वजनिक विदा घोषणा गर्न समेत निवेदन दिइएको थियो ।
गृह मन्त्रालयले सोमवार मधेशका २० जिल्लामा सार्वजनिक बिदा घोषणा गरेको छ । ती जिल्लाहरूमा झापा, मोरङ्ग, सुनसरी, सप्तरी, उदयपुर, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ्ग, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर रहेका छन् । सरकारले मकवानपुर र चितवनलाई तराईका जिल्लाहरूको सूचीभन्दा पर राख्दै आएको छ ।
तराई मधेश राष्ट्रिय परिषद्ले साउन २३ गते विदाका लागि पहल गरेकोमा तराई मधेश राष्ट्रिय परिषद्का सदस्य गण एवं माननीय उपप्रधान तथा स्थानीय विकासमन्त्री विजय कुमार गच्छदार, गृह मन्त्री जनार्दन शर्मा प्रभाकर, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री जितेन्द्र नरायण देव, शहरी विकास मन्त्री प्रभु साह, जनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरीलाई धन्यवादज्ञापन गरेको छ ।







