काठमाडौं । असोज २ गते हुने स्थानीय तहको चुनावमा भाग लिन राष्ट्रिय जनता पार्टी नेपालमाथि दबाब परेको छ ।
बबरमहलस्थित पार्टी कार्यालयमा चार दिनसम्म चलेको पदाधिकारी बैठकपछि आइतबार सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा चुनावमा भाग लिनुपर्ने दबाब परेको हो ।
बैठकको उद्घाटन सत्रमा हुँदै पार्टीका संयोजक महन्थ ठाकुरले सरकारले गरेको सहमतिअनुसार कुनै पनि माग पूरा नगरेकाले चुनावमा जान नहुने धारणा राख्नुभयो । ‘चुनावमा भाग लिने कतिपय थुनामा छन्, अनि राजपा नेपाल कसरी चुनावमा जान्छ ?’ उहाँले प्रश्न गर्नुभयो ।
तर सोही दलका सह-अध्यक्ष हृदयश त्रिपाठीले प्रदेश – २ मा हुन गइरहेको स्थानीय तहको चुनावमा भाग लिन सुझाव दिनुभएको छ ।
चुनावको बहिष्कार तथा बिथोल्ने कार्यक्रम प्रभावकारी नहुने देखिएकाले चुनावमा भाग लिन सुझाव दिँदै उहाँले चुनावमा भाग नलिने हो भने चुनाव नै हुन नदिने अवस्थाको सिर्जना गर्नुपर्ने धारणा राख्नुभयो ।