संतोष चौधरी
राजविराज । संविधान संशोधन प्रस्ताव संसदमा निणयार्थ अघि बढाउने सहमति अघि बढेपछि मधेश मामिलाको दृष्टिले मुलुकको राजनीतिक स्वरूपमा परिवर्तन देखा परेको छ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) तथा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बीच संविधान संशोधन प्रस्ताव संसदमा निणयार्थ अघि बढाउने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलहरू र राजपाले संशोधन प्रस्तावलाई मतदानमा लैजाने सहमति गरेको हो । यद्यपि संविधान संशोधनमा बाधक भनिएका शक्तिको प्रतिक्रिया प्रकट भइसकेको छैन । विपक्षी दल एमाले अघिल्लो दिनसम्म नयाँ संसदले संशोधन गर्ने पक्षमा उभिएकै थियो । हालै विभाजित राप्रपाप्र संशोधनको समर्थनमा आउने अनुमान गरिएको छ ।
सत्तारुढ दलसँगको सहमतिपछि राजपा प्रदेश २ मा आगामी असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय चुनावमा सहभागी हुने भएको छ । यसअघि राजपाले पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचन बहिष्कार गरेको थियो । सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र राजपाका शीर्ष नेताहरूबीच भएको सहमतिअनुसार आगामी साता संशोधन विधेयकमाथि संसदमा मतदान हुने बताइएको छ । तथापि संशोधन खारेज हुने अवस्थालाई राजपाले कसरी लिनेछ भन्ने प्रश्न अझै मुखरित हुन सकेको छैन । ‘संशोधनलाई संसदमा अघि बढाउने सहमति भएको छ’, बैठकपछि पत्रकारहरुसँग बोल्दै कांग्रेस नेता रामचन्द्र पौडेलले भन्नुभयो । उहाँले अब राजपालाई निर्वाचनमा सहभागी हुने बाटो खुलेको बताउनुभयो ।
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलीय सदस्य महेन्द्र राय यादवले संविधान संशोधन प्रस्ताव पारित हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले एमाले लगायत फरक धारका दलहरू प्रस्तावको पक्षमा आउने धारणा उहाँको छ ।
रिपोर्टर्स क्लब काठमाडौंमा शुक्रबार यादवले एमालेभित्र सहमतिको पक्ष बलियो हुँदै गएको बताउनुभयो । संशोधनको विषयमा एमाले नेताहरूसँग पनि आफूहरूको गहिरो छलफल हुँदै आएको उहाँले बताउनुभयो ।
अदालतले प्रदेश २ मा स्थानीय तहको संख्या वृद्धिमाथिको अन्तरिम रोक हटाएपछि सत्तारुढ गठबन्धनसँगको तीनबुँदे सम्झौता कार्यान्वयनमा जाने ढोका खुलेको भन्दै उहाँले सर्वोच्चको निर्णयले राजपा चुनावमा जाने वातावरण बनेको बताउनुभयो ।
वाणिज्यमन्त्री मीन विश्वकर्माले अबको संसद बैठकमा संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेश भई पारित हुने बताउनुभयो । प्रस्तावको पक्षमा आवश्यक मत पुग्ने बताउँदै मन्त्री विश्वकर्माले आइतबारको संसद बैठकमा संशोधन प्रस्ताव प्रक्रियामा लगी निर्णयार्थ पेश हुने जानकारी दिनुभयो ।
प्रस्तावको पक्षमा प्रमुख प्रतिपक्षी नेकपा एमाले पनि आउने विश्वास व्इक्त गर्दै उहाँले त्यसबारे आन्तरिक छलफल भइरहेको संकेत दिनुभयो । एमालेका सामु प्रस्तावको पक्षमा जानुको विकल्प नभएको मन्त्री विश्वकर्माको भनाई थियो ।
तर नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले संविधान संशोधन प्रस्ताव पारित हुन नसक्ने बताउनुभयो । एमालेसँग परामर्श विना सरकारले संविधान संशोधनको मस्यौदा बनाएको भन्दै उहाँले राजनीतिक दाउपेचको विषय बनाएकाले आफूहरू पक्षमा जान नसक्ने बताउनुभयो ।
माओवादी केन्द्रका नेता तथा पूर्व कानुनमन्त्री अजयशंकर नायकले राष्ट्रिय जनता पार्टी नेपाल चुनावमा आउने वातावरण बनेको बेला प्रमुख प्रतिपक्षी नेकपा एमालेले अड्को थाप्न नहुने बताउनुभयो ।
चुनाव कसैले जस लिने र अपजस लिने विषय नभएकाले स्वार्थको विषय बनाउन नहुने भन्दै उहाँले संविधान संशोधनको विषयमा एमालेले भित्र एउटा गर्ने र बाहिर अर्को बोल्ने गर्दै आएको आरोप लगाउनुभयो । तर उहाँले भन्नुभयो, ‘राष्ट्रिय सहमति बनाएर प्रस्ताव पारित गर्ने प्रयास भइरहेको छ, ‘राष्ट्रिय सहमति गरेर संशोधन प्रस्ताव पारित गर्नुपर्छ ।’