
काठमाडौं । मौसमी रुघाखोकीको उपचारपछि वीर अस्पतालबाट डिस्चार्ज हुने क्रममा स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले देशभित्रकै अस्पताललाई सवल बनाउन जोड दिएका छन् ।
एक सातादेखि वीर अस्पतालको भीआई कक्षमा उपचार गरी आज डिस्चार्ज हुने क्रममा स्वास्थ्य मन्त्री पोखरेलले वीर अस्पताल प्रति आफ्नो विश्वास रहेकै कारण आफूले मन्त्री नहुँदा पनि सोही अस्पतालबाट सेवा लिनेे गरेको जानकारी दिए ।
मन्त्री पोखरेलले भने, ‘वीर लगायत सरकारी अस्पतालले सेवा दिन सक्छन् भन्ने विश्वास भएरै म यहाँ आएको छु र त्यही विश्वास सिलएरै र्फकदैछु ।’
उनले वीर अस्पतालका साथै देशमा राष्ट्रिय स्तरको अस्पताल चलाउन हामीसँग सुयोग्य प्रतिभा रहेको समेत जानकारी दिए ।
‘देश भएपछि देश भित्रका संस्थाहरुलाई सबल बनाउनु पर्छ । त्यो आफू सामेल भएरै सबल हुन्छ भन्ने मेरो विश्वास हो ।’
यहाँ उपचार सम्भव नभएमात्र विभिन्न बोर्डहरुले विदेशको लागि सिफारिस गर्ने जिकिर गर्दै त्यस भन्दा अघि देश भित्रका प्रणालीलाई नै सबल बनाउनु पर्नेमा उनले जोड दिए ।
‘नीतिगत सुधारको दायित्व थपियो’
सोही क्रममा स्वास्थ्य मन्त्री पोखरेलले आफूमा सरकारी अस्पतालहरुको नितिगत सुधारको दायिप्त थपिएको बताएका छन् ।
मौसमी रुघाखोकीका कारण एक सातादेखि वीर अस्पतालको भीआई कक्षमा उपचार गरी आज डिस्चार्ज हुने क्रममा स्वास्थ्य मन्त्री पोखरेलले आफू वीर अस्पतालमा रहँदासम्म त्यहाँ कार्यरत चिकित्सक, नर्स तथा प्यारामेडिक्स तथा न्याम्सका पदाधिकारीसँग नजिक हुने अवसर पाएको जिकिर गर्दै अब मन्त्रालय फर्किएसँगै नितिगत सुधारको जिम्मेवारी थपिएको बताएका छन् ।
उनले भने, ‘म यहाँ त्यतिकै आएको छैन । यहाँ बसुञ्जेल यहाँ कार्यरत चिकित्सक , नर्स, व्यारामेडिक्स लगायत न्याम्सबारे नजिकबाट थाहा पाउने अवसर पाएको छु । अब मन्त्रालय फर्केलगत्तै सरकारी अस्पतालहरुकेा नितिगत सुधारको दायित्व थपिएको छ ।’
सोही अवसरमा स्वास्थ्य मन्त्री पोखरेलले सबै सरकारी अस्पतालहरुलाई छुट्टै आइसोलेन वार्ड राख्न निर्देशन समेत दिएका छन् ।
स्वास्थ्यमन्त्रीलाई एचवानएनवान संक्रमण
बीर अस्पतालले स्वास्थ्यमन्त्री पोखरेललाई मौसमी रुघाखोकी एच् वान एन् वान संक्रमण भएको जनाएको छ ।
अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतका अनुसार मन्त्री पोखरेललाई सामान्य ज्वरो आउनुका साथै रुघाखोकी तथा माथिल्लो स्वास्थ्य प्रस्वास प्रणाली सम्बन्धी संक्रमण भएको थियो । उनी पहिलेदेखि नै प्रोस्टेट तथा मधुमेहका विरामी समेत थिए ।
उनलाई डा. सुरेन्द्रलाल श्रेष्ठ नेतृत्वको चिकित्सकको टोलीले उपचार गरेका थिए । उपचारमा डा. अशेष ढुङ्गाना, डा. मनिल रत्न बज्राचार्य , डा. अनिल बराल, डा. आरके शाह तथा डा. सुनिल कोइरालाको समेत संलग्नता रहेको थियो ।
‘परीक्षणका क्रममा उनलाई घाटीको संक्रमण तथा एचवानएन्वान इन्फ्लएञ्जा देखिएकोले ५ दिनको औषधिसहित प्रोस्टेट तथा मधुमेहका नियमित औषधि दिइएको थियो ।
अहिले उहाँको अवस्थामा सुधार आएकोले डिस्चार्ज गरेका छौं । तर पनि केही दिन घरैमा आराम गर्न सल्लाह दिएका छौ’, अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले भने ।
एचवानएनवान भाइरस सामान्य मौसमी रुघाखोकी भएकाले यसलाई सामान्य रुपमा लिन मन्त्री पोखरेलले अनुरोध गरेका छन् ।
‘अहिले देखिएको मौसमी रुघाखोकी सामान्य भएकोले चिन्तित हुनु पर्दैन । सरल ढङ्गले उपचार गरेमा यो रोग सजिलै निको हुनसक्छ’ । उनले मौसमी रुघाखोकीलाई सामान्य रुपमा लिन समेत अग्रह गरेका छन् ।
हाल स्वास्थ्य मन्त्रीलाई समेत देखिएको एचवान्एनवान्का नेपालमा २५३१ जनाको शंकास्पद परीक्षण गरिएको थियो । त्यसमध्ये करिब ८४६ जनामा एचवानएनवान पीडिएम ०९ पोजेटिभ देखिएकोमा त्यसमध्ये १२ जनाको मृत्यु भइसकेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा प्रमुख डा. भीम आचार्यले जानकारी दिए ।
उनले भने, ‘ती १२ जनामध्ये पनि ६ जनामा एचवानएनवानका साथै अन्य विभिन्न प्रकारका समेत समस्या देखिएको थियो ।’
मानिसबाट मानिसमा सर्ने मौसमी रुघाखोकी सामान्यतयाः मनसुनको अन्त्य तथा जाडोयाम सुरु भएसँगै सुरु हुने गर्छ ।
बालबालिका, जेष्ठ नागरिक, गर्भवती महिला तथा मृगौला फेल, स्वासप्रस्वास सम्बन्धी समस्या भएका तथा क्यान्सर भएकाहरुलाई यो रोगको जोखिम भएकाले समयमै सजगता अपनाउन चिकित्सकहरुले जोड दिएका छन् ।