काठमाण्डौ,११ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले चुनावी तालमेल अन्तिम चरणमा पुगेको बताएका छन् । नेपाली कांग्रेस, राप्रपा र राप्रपा प्रजातन्त्रिकबिचको चुनावी तालमेल मोटामोटी रुपमा टुङ्गिएको तामाङ्ले जानकारी दिएका हुन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै राप्रपा उपाध्यक्ष तामाङले २ सिटको मात्रै तालेमल टुङ्ग्याउन बाँकी रहेको र आज नै टुङ्गो लाग्ने बताए ।
सातवटा सिट पाएकोमा ६ वटामा कुरा मिलेको तामाङले बताए । झापा ३ मा राप्रपाका उम्मेदवारले चुनाव लड्ने गरी तालमेल गरिएको तामाङको भनाई छ ।
झापा ३ बाट कांग्रेसका कृष्णप्रसाद सिटौलाले दाबी गर्दै आए पनि त्यस क्षेत्रमा राप्रपाका उम्मेदवारलाई कांग्रेसले सघाउने निर्णय भइसकेको तामाङले बताए ।
“मकवानपुर, वीरगंज, नेपालगंज, काठमाण्डौ र दैलेख जिल्लाको तालमेलमा सहमति भएको छ ।” तामाङले भने ।
गठबन्धनलाई मजबुत बनाएर लैजाने तामाङको भनाई छ । चुनावमा कांग्रेस र राप्रपाले साझा एजेण्डा लिएर जाने विषयमा पनि सहमति भएको तामाङले जानकारी दिए ।
तर पार्टीगत रुपमा छुट्टाछुट्टै अवधारणा पनि जनतामाझ लैजाने तामाङको भनाई छ । गठबन्धनको न्युनतम कार्यक्रम छिटै तयार पारिने दाबी तामाङको छ ।