
काठमाडौं । नेपालको अग्रणी हेलिकोप्टर कम्पनी सिम्रिक एयरले उच्च प्रविधियुक्त नयाँ हेलिकोप्टर भित्र्याउने भएको छ। उडान सुरक्षालाई केन्द्रमा राखेर सेवा प्रवाह गर्दै आएको सिम्रिकले अमेरिकन हेलिकोप्टर कम्पनी बेल टेक्सट्रन पीटीई बेल ५०५ जेट रेन्जर एक्स-जेआरएक्स खरिद गरेको छ। सिम्रिकले नेपालमै पहिलोपटक नवीनतम प्रविधिको हेलिकोप्टर खरिद गरेको हो।
हेलिकोप्टर खरिद गर्न सिम्रिकको टोली सिंगापुर पुगेको थियो। सोमबार स्वीकृत (एसेप्टेन्स) गरेको कम्पनीका कार्यकारी निर्देशक इन्जिनियर विष्णु बस्न्यातले जानकारी दिए। उनले बेल मोडल ५०५ सिरियल नम्बर ६५४३० को एक (१) युनिट नेपाल ल्याउन स्वीकृतिमा हस्ताक्षर गरेको बताए।
बेल ५०५ नवीनतम हेलिकोप्टर र बेल टेक्सट्रन पीटीईको सफल मोडेलमध्ये एक हो। अमेरिकन कम्पनीले २०१९ मा नेपालको भू-भागमा आफ्नो क्षमताको परीक्षण गरेपछि सिम्रिकले खरिद गरेको हो। उत्कृष्ट प्रदर्शन र सुरक्षा सुनिश्चितताका कारण कम्पनीले हेलिकोप्टर खरिद गर्ने निर्णय गरेको थियो। परीक्षणका क्रममा यो हेलिकोप्टरले १९ हजार फिटसम्म उडान भरेर उच्च प्रदर्शन गरेको थियो। नेपालको सगरमाथा, अन्नपूर्णलगायतका उच्च पहाडी भेगमा परीक्षण उडान गरिएको थियो। तर, कोभिड महामारीका कारणले खरिद प्रक्रिया ढिलाइ भएको थियो। २०१९ मा २ वटा हेलिकोप्टर ल्याउने सहमति भएकोमा कोभिड महामारी र आर्थिक मन्दीका कारण एउटा भए पनि भित्र्याउन लागिएको कार्यकारी निर्देशक बस्न्यातले बताए।
यसअघि सिम्रिकले नेपालमा पहिलोपटक बेलकै ४०७-जीएक्सपी सिरिजको हेलिकोप्टर भित्र्याएको थियो। सन् २०१९ मा नै भित्र्याएको यो हेलिकोप्टर २२५० घन्टा नेपाली आकाशमा उडिसकेको छ। बेल ४०७ को उत्कृष्ट प्रर्दशनका कारण नै सोही कम्पनीको नवीनतम प्रविधियुक्त नयाँ हेलिकोप्टर भित्र्याउन लागिएको बस्न्यातको भनाइ छ। आगामी दुई हप्ताभित्रमा भुक्तानीको प्रक्रिया सम्पन्न गरेपछि हेलिकोप्टर नेपाल ल्याउने छ। त्यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग स्वीकृती लिने र दर्ता नम्बरको प्रक्रिया पनि अघि बढाइएको बस्न्यातले बताए।
कोभिड महामारीपछि नेपालको पर्यटन क्षेत्र लयमा फर्किदै गरेको, पर्यटक आगमन बढ्न थालेको, स्थानीय तवरमामा हेलिकोप्टरेको प्रयोग बढ्न थालेको जस्ता कारणले गर्दा सिम्रिकले बजारमा नयाँ हेलिकोप्टर ल्याउन लागेको बजार प्रमुख योगश सापकोटाले बताए। ठूला हेलिकोप्टर भन्दा साना हेलिकोटर सस्तो हुने भएको र पहुँचयोग्य भएकाले पनि यसले बजार पाउने विश्वास सापकोटाको छ।
सिम्रिक एयरले दुई दशकभन्दा लामो समयदेखि नेपाली उड्डयन उद्योगमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ।