
राजविराज । नेपालका लागि चिनियाँ राजदूता चेन सोङ्गले नेपाल–भारत विषयमा दिएको अभिव्यक्ति विवादित भएको छ । र, उनको सबैतिर आलोचना भइरहेको छ । कतिपयले सरकारले राजदूत चेनसँग स्पष्टिकरण लिनुपर्ने भन्दै आइरहेका छन् भने कतिपयले नेपालबाट फिर्ता पठाउनु पर्ने भन्दै आएका छन् । अहिले उनको आलोचना सबैतिर भइरहेको छ ।
नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले नेपालका लागि चिनियाँ राजदूत चेन सोङलाई तत्काल स्पष्टीकरण सोध्ने र फिर्ता बोलाउनको लागि चिनियाँ सरकारलाई पत्राचार गर्नुपर्ने माग गरेको छ । चिनियाँ राजदूतको पछिल्लो अभिव्यक्तिबारे अन्नपूर्ण पोष्ट लगायतका संचार माध्यमहरुले समाचार लेखेको थियो । सोबारै दीक्षितले परराष्ट्रमन्त्री एनपी साउदले तत्काल चिनियाँ राजदूतसँग स्पष्टीकरण सोध्नुपर्ने माग गरेका हुन् ।
केही दिन पहिलो राजधानीमा आयोजित एक कार्यक्रममा राजदूत चेनले भनको थियो, ‘नेपालले भारतलाई गत आर्थिक वर्षमा दस अर्बको विद्युत निर्यात ग¥यो जबकि नेपालले भारतबाट १९ अर्बको विद्युत आयात ग¥यो । भारतसँग भइरहेको विद्युत व्यापारबाट नेपालले घाटा व्यहोरी रहेको छ । यस्तो अवस्थामा नेपाल कसरी आत्मनिर्भर बन्छ ?’
डा. दीक्षितले भने, ‘चिनियाँ राजदूतको कुरा जुन उठाउनुभयो, यो कुरा मैले भर्खरै थाहा पाएँ । मिडियामा कतै आएको पनि थिएन । यस्तो कुरा चिनियाँ राजदूतले भन्नु त यो त गैरजिम्मेवारीपूर्ण कुरा हो । यो त हाम्रो भारतसँगको सम्बन्ध नै खत्तम गर्ने जस्तो कुरो आयो । हामी कुनैपनि छिमेकीसँग सम्बन्ध खराब गर्न सक्दैनौं । यो याद गर्नुहोला । हाम्रो चीन र भारत यी दुई जुन छिमेकी छन्, यी दुवैसँग हामीले सम्बन्ध खराब गर्न सक्दैनौं । तर, याद गर्नुहोला–भारतसँग हाम्रो ओपन बोर्डर छ । ओपन बोर्डर भन्नेबित्तिकै विशेष सम्बन्ध हुन्छ । यो आजमात्रै होईन, सयकडौं वर्षदेखि विशेष सम्बन्ध छ । ओपन बोर्डर भएको नाताबाट । आज चिनियाँ राजदूतले जे भने , हाम्रो यतिका वर्षको सम्बन्ध बिगार्ने नै किसिमको कुरा उनले गरे । यो चाहीँ मेरो विचारमा परराष्ट्रमन्त्रीले तत्कालै चिनियाँ राजदूतलाई बोलाएर अभिव्यक्तिबारे स्पष्टीकरण दिनुहोस भनेर भन्नुपर्छ । यो उनले तत्कालै भन्नुपर्छ । परराष्ट्र मन्त्रालयको तहबाट नै चिनियाँ गभर्मेन्टलाई (बेईजिङ) लाई भनेर तिम्रो राजदूतले यस्तो यस्तो अभिव्यक्ति दिएको छ, यो विल्कुलै हाम्रो हितको कुरा होईन । यसको लागि तिमीले तुरुन्तै यो राजदूतलाई फर्काउ भनेर हामीले भन्न सक्नुपर्छ ।’
लोकतान्त्रिक समाजवादी पार्टीका नेपालका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले राजदूत चेनको अभिव्यक्ति आपत्तिजनक छ, भारत–नेपालको सम्बन्धको बारेमा बोल्नु हुँदैन्थ्यो बोल्नुभयो त्यसले कुटनीतिक सम्बन्धलाई राम्रो नगर्ने बताए । नेपाल र चीनबीच पनि राम्रो सम्बन्ध छ तर नेपाल–भारतसँग त्यो भन्दा पनि उच्च सम्बन्ध रहेको कुरा विश्वमै जगजाहेर छ, तर अर्को कुनै देशको राजदूतले अर्को देशको बारेमा यसरी धारणा राख्नु कुटनीति मार्यादा विपरित रहेको बताए ।
उनले भने , ‘अरु जसले जे भने पनि जे गरे पनि भारतकै कारण नेपालमा लोडसेडिङ अन्त्य भएको हो, चीनले उर्जा व्यपार गर्न भनिरहेको छ, उर्जा भनेको सलाईको बटटा हो र कि त्यसमा हालेर एकैचोटीमा चीनमा पुर्याई दिने हो र ? चीनले नेपालसँग एउटा राम्रो बाटो बनाउन सकिरहेको छैन भने जलविद्युत कसरी खरिद गर्न सक्छ, यो सम्भव नै छैन ।’ विद्युत व्यपहार भारतसँग मात्र सम्भव छ जुन भइरहेको छ, हालै १० हजार मेगावाटा विजुली खरिद गर्ने निर्णय भारत सरकारले गरेको छ, यसअघि पनि खरिद गरेको छ, भन्दै नेता कर्णले भारत र नेपालको सम्बन्धलाई बिगार्ने कोशिस भइरहेको छ, त्यसबाट सचेत रहनु पर्ने बताउँदै उनले भारत–चीनको सम्बन्ध राम्रो छैन यसको मतलब भारत र नेपालको सम्बन्ध पनि बिगारि दिने काम गर्न नहुने धारणा राखे ।
मधेशका यूवा नेता संजय यादवले राजदूत चेनले नेपाल र भारतको सम्बन्धको बारेमा टिप्पणी गरेर ठूलो गल्ती गरेको बताए । र यसका लागि उनले माफी माग्नुपर्ने बताए । भारत र चीनको सम्बन्ध राम्रो छैन, त्यही भएर नेपालसँग राम्रो सम्बन्ध नरहोस् भनि राजदूत चेनले यस्तो अभिव्यक्ति दिएको हो ।
नेपाल सरकारले राजदूत चेनसँग तत्कालन स्पष्टिकरण लिनुपर्छ र चित्त बुझ्दो जवाफ नआए नेपालबाट फर्काउनुपर्ने उनले बताए । राजदूतहरु कुटनीतिक सम्बन्ध बनाउनका लागि एक अर्काको देशमा बसेका हुन्छन् तर चिनियाँ राजदूत चेनले सम्बन्ध बिगार्नमा लाग्नु भएको उनले बताए ।