काठमाडौँ । राजश्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो सुन तस्करीमा संलग्न रहेका चिनिया नागरिकसँग सम्बन्ध जोडिएका उच्च राजनीतिक नेतृत्वलाई पूरै उन्मुक्ति दिइएको छ ।

नेकपा माओवादी केन्द्रको उच्च नेतृत्वसँग उठ बस र व्यापारिक साझेदारीसमेत रहेका बेल्जियन नागरिक दावा छिरिङ र चिनियाँ नागरिक दाओजिन वाङलाई मूख्य प्रतिवादी बनाउँदा उनीहरुसँग सम्पर्क स्थापित भएका नेताहरुलाई भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सामान्य सोधपुछ नै नगरी उन्मुक्ति दिएको हो ।

प्रहरीले पक्राउ गरेका ३२ जना र फरार रहेका १८ जना गरी ५० जनाको सूचीसहित सरकारी वकिलको कार्यालयमा अनुन्धान प्रतिवेदन बुझाइसकेको छ । सरकारी वकिल कार्यालयले आइतबार उनीहरुलाई मुद्धा दायर गर्ने गरी काम गर्न थालेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा फरार रहेका ४ जनालाई मात्रै फरार प्रतिवादी कायम गर्न केन्द्रीय अनुसन्धान ब्युरोले सरकारी वकिललाई राय दिएको स्रोतको दाबी छ ।

चीनको सिचुवान प्रान्त घर भएका लोरुङ गोम्बो, बाराका भोला सराफ, व्यवसायी जीवन चलाउने र रोल्पा घर भएकी अमला रोकालाई फरार प्रतिवादी कायम गरिएको छ ।

चिनियाँ लोरुङ गोम्बो तिब्बतियन मूलका बेल्जियन नागरिक दावा छिरिङका भाइ नाता पर्छन् ।

अमला रोका दावाकी पत्नी हुन् । ब्युरोले बुधबार पत्रकार सम्मेलन गरेर १८ जना फरार भएको जानकारी दिएको थियो । तर ४ जना बाहेक अन्य आरोपीको ठेगाना नखुलेको हुनाले प्रतिवादी कायम गर्न नसकिएको सीआईबी स्रोतले जनाएको छ ।

सीआईबीले पक्राउ गरिएका र फरारसहित २९ जनालाई प्रतिवादी बनाउन जिल्ला सरकारी वकिल कार्यालयलाई राय दिएको छ ।

थुनामा भएका २५ जनालाई प्रतिवादी कायम गर्न राय सहितको अनुसन्धान प्रतिवेदन आएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँका जिल्ला न्यायाधीवक्ता जनक घिमिरेले बताए ।

उनका अनुसार सीआईबीका अधिकारीले जिल्ला सरकारी वकिलको कार्यालय बबरमहल पुगेर ३१४ पृष्ठको अनुसन्धान प्रतिवेदन बुझाएका छन् । त्यसमा सरकारी वकिल कार्यालयले अध्ययन गरिरहेको छ ।

रेडिट्रेड प्रालीबाट आयात गरिएको ब्रेकप्याडहरुमा लुकाइ छिपाइ अवैध रुपमा जम्मा बरामद ६०.७१६ किलो र सुन निकाली पुनः प्याकिङ गरिएको अवस्थामा बरामद भइ आएको ब्रेकप्याडहरूको तौलबाट यकिन गरिएको ३०२.०६२ गरी जम्मा ३६२.७७८ किलोग्राम सुनको ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ बराबर मुल्यको सुन अवैध पैठारी भएको सीआईबीको अनुसन्धानमा देखिएको छ ।

अवैध ससुन पठारी गर्न खडा गरिएका ५ वटा कम्पनीहरूमार्फत ल्याइएको सुनको लागि थप अनुसन्धान जारी राखिएको सीआईबीले जनाएको छ ।

यस प्रकरणमा संलग्न ५ जना विदेशी नागरिकहरुले झुठा विवरण पेश गरी नेपाली नागरिकता तथा राहदानीसमेत लिएको पुष्टि भएको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।

विदेशी नागरिकहरुले अन्तरदेशीय आपराधिक संगठित सञ्जाल खडा गरी क्रिप्टो करेन्सी, डिजिटल वालेटहरु अलीपे, एन्टपे, ग्लोबपे, विनपेबाट सुनको भुक्तानी र विदेशी मुद्राको अवैध कारोबारसमेत गरेको पत्तो लगाएको सीआईबीले नेपाल राष्ट्र बैंकको सहयोगमा अनुसन्धान जारी राखेको जनाएको छ ।

सुन तस्करीका लागि लेखनाथ कार्की डोली सञ्चालक रहेको बाँसबारीको छुङगक इलेक्ट्रिक सप्लायर्स, रामकुमार भुजेलको चाबहिलस्थित भुजेल इलेक्ट्रिक सप्लायर्स प्राली, सामाखुसीस्थित कुमारबहादुर भुजेलको ह्वाडा इलेक्ट्रिक सप्लायर्स, बाँसबारीकै रामबहादुर भुजेलको पवाटी इलेक्ट्रिक सप्लायर्स प्राली, लाजिम्पाट हात्तीगौँडास्थित विकुन्द्र भुजेलको दोलखा इलेक्ट्रिक सप्लायर्स प्राली, दिलिप भुजेलको बालुवाटारस्थित रेडी ट्रेड प्राली, बूढानीलकण्ठस्थित सरिता तामाङको सरिता सप्लायर्स सुन तस्करीमा खडा गरिएका थिए ।

टोखा नगरपालिका–२ र काठमाडौं–२ मा सुन गाल्ने स्थान पत्ता लगाएको सीआईबीले १० वटा मेसिनबाट सुन गालिने गरेको पनि अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको छ ।

विमानस्थल भन्सार कार्यालयका ८ कर्मचारी, ४ भन्सार एजेन्ट, ३ कार्गो एजेन्ट, एक ट्याक्सी चालक, १ भाषा अनुवादक र कोठा खोज्ने व्यक्ति, २ जना कम्पनी खडा गरी मालबस्तु व्यवस्थापन गर्ने, ११ जना सुनको कारोबारमा संलग्नलाई पक्राउ गरी मुद्दा चलाइएको छ ।

सीआईबीले भन्सार ऐन २०६४ को दफा ५७ (१) घ र १ ख, संगठित निवारण ऐन २०७०, नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५, मुलुकी अपराध संहिता २०७४ को दफा ४३ को एकीकृत कसूर, नेपाल नागरिकता ऐन २०६३, अध्यागमन ऐन २०४९ अनुसार कारबाही गर्नका लागि माग गरेको छ ।

सीआईबीले दावाले तस्कर समूहका नेपाली कारिन्दालाई व्यवस्थापन गर्ने जिम्मा लिएको जनाएको छ । सुन प्रकरणको अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाका अनुसार दावाले एलेक्स भनिने याओ पुचेङसँग मिलेर सुन तस्करीको समूहको नेपालमा व्यवस्थापन गरेका थिए ।

‘एलेक्स भन्ने याओ पोचुङले भनेअनुसार नै उनले समूहका सदस्यहरुलाई चाहिने कोठा र घर भाडामा लिने काम गरेको पनि पाइएको थियो ।

सुन गाल्नलाई व्यवस्थापन गरिएको टोखा र लाजिम्पाटस्थित स्थानमा सम्पर्क र भेटघाटको वातावरण पनि उनले नै मिलाउने गरेको दवाले नै गरेका थिए । आरोपीहरुलाई होटलमा बस्ने प्रबन्धको व्यवस्थापन पनि उनैले गरेको पाइएको प्रहरीले जनाएको छ ।

दावा रोल्पाकी माओवादी नेतृ अमला रोकाका श्रीमान् हुन् । अमलाको नाममा ठमेलस्थित होटल भियना छ ।

तस्कर समूहले त्यस होटल प्रयोग गरेको देखिएको प्रहरीले जनाएको छ । त्यो होटलमा चिनियाँ नागरिकका लागि अघोषित अस्पताल पनि सञ्चालनमा रहेको सीआईबी स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको