इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक-ए-इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानकी पत्नी बुशरा बीबीले आफ्ना श्रीमानलाई जेलमा गम्भीर खतरा भएको आरोप लगाएकी छन्।

एक्सप्रेस ट्रिब्यूनले गरेको रिपोर्ट अनुसार पूर्व प्रधानमन्त्रीकी पत्‍नीले अगस्ट २२ मा इमरानलाई अट्टक जेलमा भेटेपछि अधिवक्ता सैयद रिफाकत हुसेन शाह मार्फत सर्वोच्च अदालतमा निवेदनपत्र पेश गरेकी थिइन्।

बुशराले आफ्नो निवेदनमा भनेकी छन्, ‘अनावश्यक ढिलाइ र कठिनाइ पछि मंगलबार एटक जेलमा इमरानलाई भेट्न अनुमति दिइएको थियो। भेटमा इमरानले पाकिस्तानमा संविधान र कानूनको शासनको पक्षमा उभिने र आफ्नो देशको लागि कुनै पनि बलिदान दिने र कुनै पनि निजी वा कठिनाइ भोग्ने दृढ संकल्प व्यक्त गरेका छन्। उनको स्वास्थ्यमा उल्लेखनीय गिरावट आएको छ र कैदमा रहँदा विशेष गरी हातको वरिपरिको मांसपेशीहरू गुमाएको जस्तो देखिन्छ।’

‘७० को दशकमा एक व्यक्तिको स्वास्थ्यमा यस्तो गिरावट उसको जीवनको लागि गम्भीर खतरा हुन सक्छ,’ निवेदनमा भनिएको छ। उनले इमरानको बिग्रँदै गएको स्वास्थ्य र जेलमा उनको जीवनमा परेको गम्भीर खतराको नोटिस लिन सर्वोच्च अदालतलाई आग्रह गरेकी छन्।

बुशराले गत हप्ता पाकिस्तानको पञ्जाब सरकारको अगाडि यस्तै चिन्ता व्यक्त गरेकी थिइन्। यसअघि पाकिस्तानको जिल्ला र सत्र अदालतले अगस्ट ५ मा पीटीआई अध्यक्ष इमरान खानलाई राज्यका उपहारहरू अवैध रूपमा बेचेको आरोपमा तीन वर्षको जेल सजाय सुनाएको थियो र उनलाई पाँच वर्षको लागि राजनीतिबाट अयोग्य ठहर गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

तोशाखाना मुद्दामा दोषी ठहर भएलगत्तै पीटीआई अध्यक्षलाई लाहोरको जमान पार्क निवासबाट पक्राउ गरिएको थियो। अदालतले इमरान खानलाई पाकिस्तानी रुपैयाँ (पीकेआर) एक लाख जरिवाना पनि लगाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको