
राजविराज । श्री जनता शंकर मावि नर्घो विद्यालयमा देखिएको शिक्षक दरबन्दी सम्बन्धी समस्या समाधान गर्न संघर्ष समिति गठन
गरिएको छ । आइतबार भएको अभिभावक भेलाबाट दरबन्दीको निर्णय कटौती विरुद्ध संघर्ष समिती गठन गरेको जनाइएको छ ।
माग पूरा नभएसम्म चरणवद्ध
रुपमा अन्दोलन गर्ने निर्णय गरिएको जनमत पार्टीका नेता अशोक कुमार साहले बताएका छन् । केही महिना अघि विद्यालय व्यवस्थापन समिति र विभिन्न राजनीतिक दलको मिलेमतोमा दरबन्दी कटौतीको निर्णय गरी गाउँपालिकाबाट पारित गराइ शिक्षा समन्वय इकाइ पठाएको भन्दै स्थानीय, अभिभावक र दाता परिवारले आक्रोश जनाएका
थिए । गत महिना को २५ गते जनमत पार्टीसहित अभिभावक, दाता परिवारले दरबन्दी कटौतीको निर्णय बदर खारेजी, कमी भएको विद्यालयमा वैकल्पिक भोलेन्टियर शिक्षक लागु, विद्यालयमामा कमी रहेको डेस्क / बेन्च पूर्ति गरी उभेर पढ्नुपर्ने वाध्यताको अन्त्य लगायत विभिन्न ६ बुँदे माग राखी १५ दिन को अल्टिमेटम समेत दिइ ज्ञापन पत्र बुझाइएको थियो ।
अल्टिमेटम अवधिमै जनमत पार्टीसहित दाता परिवारले अभिभावक भेला राखेकोमा विभिन्न राजनीतिक चलखेलले गरी भेला बिथोलिएको थियो । त्यस पछि पुनः व्यवस्थापन समितिलाई अभिभावक भेला राख्न निवेदन गर्दा समितिले वेवास्ता गरेको अभिभावकहरुको आरोप छ ।
अब संघर्ष समितिले विद्यालयलाई व्यवस्थित गर्न र आफूहरुको माग पूरा नहुनजेलसम्म विभिन्न विरोधका कार्यक्रमहरु गर्ने जनाएको छ ।