
विनय कर्ण
राजविराज – सगरमाथा आँखा अस्पताल प्रालि राजविराजले आईतवार आफ्नो वार्षिक कार्यप्रगति विवरण सार्वजनिक गरेको छ ।
राजविराज वडा नम्बर ८ स्थित रुपनी रोडमा रहेको सो अस्पतालले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा अस्पतालले एक बर्षमा प्रवाह गरेको सेवा र अगामी रणनीतिबारे पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका हुन् ।
पत्रकार सम्मेलनमा अस्पतालका मेडिकल डायरेक्टर डा. आशिषराज पन्तले अस्पताल संचालनमा आएको एक बर्षमै गुणस्तरिय सेवा दिन सफल भएको बताए । उनले यहाँबाट आधुनिक प्रविधि सहितको सुविधा सेवाग्राहीले पाईरहेको उल्लेख गर्दै एक बर्षमा ओपिडी सेवा मार्फत मा १४ हजार छ सय पाँच जना र सर्जरी तर्फ १ हजार तीनसय ४६ जनाले उपचार पाएको जानकारी दिए ।
सर्जरी तर्फमा मोतियाविन्दुका १ हजार दुईसय १५ जनाको अप्रेसन र अन्य एक सय ३१ जनाको सफल अप्रेसन गरिएको डा. पन्तले बताए । ‘यो एक बर्षमा आधुनिक प्रविधिबाट सबै उपचार सेवा दिएका छौं, विना ईन्जेक्सनको पनि आँखाको अप्रेसन भईरहेको छ र मोतियाविन्दुको एकै दिनमा अप्रेसन गरी डिस्चार्ज समेत गर्ने गरेका छौं’ उनले भने, ‘बाहिरबाट रेफर भएर आएका विरामीको पनि सफल उपचार भएको छ, अहिले सम्म सप्तरी सिरहावासी बाहेक करिव ३० प्रतिशत भारतबाट आएका विरामीले उपचार पाएको छ ।’
२०७९ कार्तिक १९ गते देखि संचालनमा आएको सगरमाथा आँखा अस्पतालले पहिलो बार्षिकोत्वसको अवसरमा ओपिडी निशुल्क र जाँचमा २५ प्रतिशत सम्म छुट गरिएको जानकारी दिदै डा पन्तले जटिल प्रकृतीका आँखाको क्यान्सर जस्तो रोगको पनि लागि यहाँ उपचार हुने भएकोले अव सप्तरीबासीलाई महँगो खर्चमा बाहिर जानुनपर्ने जानकारी दिए । उनले यसै बर्ष आँखाको नानी ट्रान्सप्लान्ट र रेटिनाको सर्जरी सेवा शुरु गरिने बताए ।