
विनय कर्ण
राजविराज – जनता समाजवादी पार्टी (जसपा) नेपालका असन्तुष्ट पक्षले समानान्तर जिल्ला कार्य समिति गठन गरेपछि संस्थापन पक्षले कारवाही गर्ने चेतावनी दिएका छन् ।
संस्थापन पक्षका जिल्ला अध्यक्ष केदार प्रसाद यादवले शनिबार जसपा सप्तरीको कार्यालयमा पत्रकार सम्मेलन गरि विधान प्रक्रिया भन्दा बाहिर गएर जिल्लामा समानान्तर समिति गठन गर्ने उपर कार्वाही गरिने चेतावनी दिएका हुन् ।
पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य रेणु यादव, शैलेन्द्र प्रसाद साह तथा स्थानीय केही प्रभावशाली नेताको योजनामा उमेश प्रसाद यादवको अध्यक्षतामा ५७ सदस्यीय जिल्ला कार्य समिति गठन गरेपछि जसपा सप्तरीमा आन्तरिक द्वन्द्व झनै चर्किएको हो
केही नेताको स्वार्थपूर्तिका लागि यस्तो गरिएको भन्दै संस्थापन पक्षका जिल्ला अध्यक्ष यादवले कुनै पनि हालतमा उमेश प्रसाद यादव नेतृत्वको नयाँ कार्यसमितिले मान्यता नपाउने दावी समेत गरेका छन् ।
उनले पार्टीको विधान र पद्धती विपरीत भएको असन्तुष्ट पक्षको भेलाबाट स्वघोषित पदाधिकारी तथा तिनलाई प्रयोग गर्ने नेताहरुलाई कारवाही प्रक्रिया अघि बढाउन थालिएको र यस क्रममा पहिलो चरणमा उनीहरुलाई स्ष्टीकरण सोध्ने तयारी भएको जानकारी दिए ।
उनले जिल्ला कार्यसमितिको बसेको बैठकले पार्टी विरोधी गतिविधिमा लागेकालाई छानविन गरी दोषी पाइएकालाई कारवाही गर्ने सर्वसम्मत निर्णय भएको जानकारी समेत दिए ।
उनले भने, “पार्टीको विधान, परिपत्र र पद्धती विपरीत भेला गरी गठन गरिएको समिति अवैधानिक हो, पुरानो जिल्ला कार्यसमितिका ४८ मध्ये ४५ जना यतै रहेकाले हाम्रो समिति नै अधिकारिक र वैधानिक हो ।“
आफुहरु पार्टीको विधान, परिपत्र र पद्धती अनुसार नै चयन भएकाले सोही प्रक्रियाबाट मात्र परिवर्तन हुन सक्ने भन्दै उनले अवैधानिक ढंगले आयोजना गरिएको भेलाबाट गठित भएको अर्को समिति अवैधानिक, नौटंकी र बार्गेनिङ्गको लागि मात्र भएको दावी गरे ।