कांग्रेसमा को-को निस्किए राष्ट्रियसभाका दाबेदार ?

काठमाडौं । आगामी फागुन २१ देखि रिक्त हुने राष्ट्रियसभाको अध्यक्ष पद नेपाली कांग्रेसलाई दिन सत्ता गठबन्धनबीच सहमति जुटेको छ ।

माओवादीका एक पदाधिकारीले भने, ‘लिखित सहमति भएको छैन । तर मौखिक र आन्तरिक रुपमा ठूलो पार्टी भएकाले कांग्रेसलाई पर्नु स्वाभाविक हो ।’

आगामी फागुन २१ मा राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासहित २० जनाको पदावधि सकिँदैछ । पदावधि सकिनेमा एमालेका ९, कांग्रेसका ४, माओवादी केन्द्र ३ र नेकपा एकीकृत समाजवादीका खिमलाल देवकोटासहित ३ जना सांसद छन् । जसपा एकजना जसपा सांसदको पनि पदावधि सकिँदैछ ।

फागुन २१ मा रिक्त हुने १९ सिटका लागि माघ ११ गते निर्वाचन हुँदैछ । सो निर्वाचनले १९  सांसदलाई छान्नेछ भने एक सांसद मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने छन् ।

माघ ११ को निर्वाचनमा एमालेबाट गुम्ने सम्भावना रहेका ९ सिटमध्ये कांग्रेसले ४ सिट दाबी गरेको छ । योसहित कांग्रेसले कुल ८ वटा सिट पाउनुपर्ने गठबन्धनमा अडान राखेको छ ।

अन्य दलले भने अध्यक्षसहित ७ सिट लिन कांग्रेसलाई भनिरहेका छन् । यसबारे मंगलबार बालुवाटारमा कांग्रेस र माओवादीका नेताबीच लामो छलफल भए पनि निष्कर्ष निस्किएको छैन ।

सिटौलालालाई अध्यक्ष बनाउने देउवाको चाहना

राष्ट्रियसभा अध्यक्षमा कांग्रेसको संस्थापन पक्षले कृष्णप्रसाद सिटौलालाई अगाडि सारेको छ ।  मिरेन्द्र रिजलको नाम पनि चर्चामा छ । तर, सिटौलालाई जिम्मेवारी दिन सभापति देउवाको जोड छ ।

राष्ट्रियसभाका लागि चर्चामा आएका कांग्रेसका नामहरूमा दलितबाट मीन विश्वकर्मा, महिलामा बागमतीबाट महालक्ष्मी उपाध्यक्ष डिना, अन्य महिलामा सुजाता कोइराला, पुष्पा भुसाल, धना खतिवडा, आदिबासी जनजाति  बागमतीबाट गणेश लामा र सुदूरपश्चिमबाट गोपाल देउवाको नाम चर्चामा छ ।

त्यस्तै, गण्डकीबाट गोपालमान श्रेष्ठको चर्चा छ । यस्तै अन्य नेतामा सबुज बानियाँ, कृष्णकिशोर घिमिरे, भूपेन्द्रजंग शाही, मनोजमणि आचार्य र पत्रकार महासघंका पूर्वसभापति तारानाथ दाहालको नाम पनि कांग्रेसभित्र चर्चामा छ ।

यसैबीच, बिहीबार सानेपामा कांग्रेस केन्द्रीय समितिको बैठक बसेको थियो । बैठकमा उपस्थित कांग्रेस नेता प्रेम केसीले भने, ‘प्रदेशबाट अत्यधिक नामहरू आएका छन् । छलफल गरेर अन्तिम रूप लिन समय लाग्छ ।’

कांग्रेसमा राष्ट्रियसभाका लागि पुराना नेतादेखि नयाँ नेतासम्मको चर्चा छ । कांग्रेसले सबै प्रदेशबाट प्राथमिकताका क्रममा १–१ जनाको नाम पठाउन भनेको थियो । तर, आंकाक्षी धेरै भएकाले कसलाई प्राथमिकता दिने भन्नमा पनि विवाद भएको कांग्रेस कार्यसम्पादन समितिका एकनेताले खबरहबलाई बताए ।

ती नेताले भने, ‘पुराना भन्दा नयाँ नामहरू धेरै आए । नयाँलाई पालो दिनुपर्ने हो तर शीर्ष नेताहरू यसका लागि तयार हुनुहुन्न । व्यवस्थापन गर्न चुनौती छ ।’

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार नामहरूको विषय टुङ्गो लगाउन समय लाग्ने छ । उनले भने, ‘ठूलो पार्टीमा धेरैजनाको नाम आउनु स्वभाविक हो । समय लाग्ने देखियो ।’

कांग्रेसमा दुई गुट छ । अध्यक्षमा सिटौलालाई पठाए संस्थापन इतर समूह शेखर पक्षले ४ सिट मागिरहेको छ । तर देउवा यसमा तयार देखिएका छैनन् ।

कांग्रेसले केन्द्रीय समितिको बैठकको निर्णय दिन १५ गते शनिबार पत्रकार सम्मेलनको आयोजना गरेको थियो । सो क्रममा  राष्ट्रियसभाको निर्वाचनका लागि प्रदेशबाट सिफारिस भई आएका नामहरू मध्येबाट भौगोलिक र जातीय सन्तुलनलाई ध्यान दिँदै  उम्मेदवार तय गरिने कांग्रेसले मापदण्ड बनाएको छ ।

त्यसैगरी, पार्टीमा योगदान गरेका, पार्टीप्रति प्रतिबद्ध, स्वच्छ छवि भएका र हालसम्म कुनै पनि अवसर नपाएकाहरूलाई प्राथमिकता दिने कांग्रेसले निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माको भनाइ छ । तर, उनी थप्छन्, ‘पुराना नेताहरू भए पनि कुनै कारणले पार्टीमा अवसर नपाउनुभएको हुन सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको