काठमाडौँ। जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा बजार क्षेत्रमा निषेधाज्ञाको समय थप गरेको छ ।

कार्यालयले आज सूचना जारी गर्दै बिहान ८ देखि आइतबार  बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । यसअघि हिजो साँझ ५ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि कर्फ्यु जारी गरिएको थियो ।

अस्पताल स्तरोन्नतिको विषयलाई लिएर हिजो भएको झडपमा एक जनाको मृत्यु भएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

कार्यालयले पूर्वमा सीतापुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती/चोर्निया पुल क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ ।

निषेधित समय र क्षेत्रमा कुनै किसिमको भेला हुन, बाहिर हिँड्डुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाइने जनाइएको छ ।

आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।

हिजो भएको झडपमा प्रहरीले गोली चलाउँदा बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो । प्रदर्शनकारीले नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकुमारी कटवालको घरमा ढुंगामुढा गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको