विनय कर्ण
राजविराज। सप्तरीको १८ वटै पालिकामा दादुरा रुबेला विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ ।
आउँदो फागुन १३ गतेदेखि चैत २ गते सम्म तीन चरणमा गरी जिल्लाको १८ वटै पालिकामा अभियान सञ्चालन हुने भएको हो।
जिल्ला खोप समन्वय समिति र स्वास्थ्य कार्यालय सप्तरीले संयुक्त रुपमा सोमवार दादुरा रुबेला खोप अभियान अन्तर्गत खोप समन्वय समिति, संचारकर्मी र सरोकारवालाहरु संगको अन्तरक्रिया एवं छलफल कार्यक्रमको आयोजना गरी अभियान बारे जानकारी गराएका हुन् ।
यस अभियानमा एक लाख ८७ हजार आठ सय ९२ जना बालबालिकालाई लाई दादुरा रुबेला विरुद्धको खोप लगाउने लक्ष्य लिइएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख देवकान्त झाले जानकारी दिए।
उनले नौ महिना देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन सबै पालिका गरी आठ सय आठ वटा खोप केन्द्र रहने र एक हजार छ सय १६ स्वास्थकर्मी परिचालन गरिने बताए ।
प्रथम चरणमा सप्तकोशी, कञ्चनररूप, हनुमाननगर, तिरहुत, महदेवा र तिलाठी कोईलाडीमा फागुन १३ देखि १७ गते सम्म, दोश्रो चरणमा राजगढ, छिनमस्ता, डक्नेश्वरी, बोदेबर्साइन, बलानबिहुल र विष्णुपुरमा फागुन २० देखि २४ गते सम्म अभियान सञ्चालन हुनेछ ।
यसैगरी तेश्रो चरणमा सुरुङ्गा, खडक, शम्भुनाथ, रुपनी, राजविराज, अग्निसाईर कृष्णासवरनमा फागुन २७ देखि चैत २ गते सम्म खोप अभियान चलाउने जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला समन्वय समिति सप्तरीका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका अध्यक्ष शिवनारायण साहको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी किरण थापा, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देव सहितकाले अभियान सफलतापूर्वक सम्पन्न गर्न सबैले आ-आफ्नो स्थानबाट सकारात्मक सहयोग गर्ने विश्वास व्यक्त गरे ।
संचारकर्मी, गैरसरकारी महासंघ, स्वयंसेविका सहितका सरोकारबालाहरु सहभागितामा गरिएको अन्तरक्रियामा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख देवकान्त झाले कार्यकमको उद्देश्य वारे जानकारी गराए भने विश्व स्वास्थ्य संगठनका कनसलटेन्ट दिलबहादुर शाही र खोप सुपरभाईजर हिरेन्द्रप्रसाद साहले थप सहजिकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको