विनय कर्ण
राजविराज । राजविराज नगरपालिकाले आफ्नो हकभोग र स्वामित्वको जग्गामा नियमपूर्वक बनाउन लागेको संरचना निर्माण कार्यलाई जबरजस्ती अवरोध खडा गरी क्षति पुर्याउन थालेको एक राजनीतिकर्मीले बताएका छन् ।
राजविराजमा पत्रकार सम्मेलन गरी लोकतान्त्रिक समाजवादी पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं राजविराज निवासी जय प्रकाश ठाकुरले यस्तो कुरा बताएका हुन् ।
राजनीतिक आस्था र फरक दल भएकै कारण आफ्नो बारेमा राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनले संरचना निर्माणमा अवरोध गर्नुका साथै आफू र आफ्नो परिवारका बारेमा सामाजिक सञ्जालमा समेत भ्रम फैलाएर मानसिक यातना दिई चरित्र हत्या गरेको भन्दै उनले आपत्ती जनाएका छन् ।
साविक राजविराज नगरपालिका वडा नम्बर ३ हाल वडा ४ मा पत्नि संगीताको नाममा रहेको १५ कठ्ठा ९ धुर जग्गामा नयाँ संरचना बनाउन खोज्दा नगरपालिकाले अनावश्यक हस्तक्षेप गरी दुःख दिन थालेको बताए ।
जग्गाको नियमित रुपमा मालपोत बुझाउँदै आएका रसिद तथा अन्य प्रमाणहरु देखाउँदै पत्रकार सम्मेलनमा ठाकुरले नयाँ संरचना निर्माणका लागि आवश्यक पर्ने नक्सा पासका लागि नगरपालिकामा लाग्ने दस्तुर २ लाख ११ हजार ४ सय ५७ रुपैया २०७८ साल भदौ २१ गते नै बुझाइसक्दा पनि दु:ख दिने नियतले हालसम्म नक्सा पास नगरी आर्थिक क्षति पुर्याउन खोजेको आरोप लगाए ।
‘नगरपालिकाले शुल्क बुझेको २५ महिनाभन्दा बढी भो, तर हालसम्म विभिन्न बहानामा नक्सा पास गरिदिएको छैन’, उनले भने, ‘उल्टै काम रोक्नु भन्दै चेतावनी सहितको पत्र काटेर हाम्रो परिवारलाई मानसिक यातना र आर्थिक क्षति पुर्याउने काम नगरपालिकाले गरिरहेको छ ।’ नगरपालिकाको यस्तै रबैया रहे आफू कानुनी उपचारमा जाने समेत उनले चेतावनी दिए ।
यस अघि २०७३ सालमा उक्त जग्गा संरक्षणका लागि चारैतिरबाट पर्खाल निर्माण गर्ने क्रममा नगरपालिकाले रोक्का गरी अमिन रामनारायण ठाकुरलाई खटाएको र उनले अरु कसैको कुनै जग्गा नमिचेको भनी प्रतिवेदन बुझाउँदा पर्खाल निर्माण कार्य सम्पन्न भएको जानकारी गराउँदै ठाकुरले हाल सोही पर्खालको घेराभित्र नयाँ संरचना बनाउन खोज्दा कहिले पत्र काटेर, त कहिले प्रहरी पठाएर रोकाउँछु भन्दै धम्की दिनु अचम्मभको कुरा भएको बताए ।
पत्रकार सम्मेलनमा उपस्थित रहेका राजविराज नगरपालिकाका पुर्व मेयर शम्भुप्रसाद यादव र लोसपा सप्तरीका अध्यक्ष सुनिल कुमार झाले समेतले आफ्नो निजी जग्गामा नियमपूर्वक संरचना निर्माण कार्य थालिएको भन्दै नगरपालिकाले त्यसमा हस्तक्षेप गर्नुको कुनै औचित्य नरहेको प्रतिक्रिया दिए।
यता सोबारे नगरपालिकाका कार्यवाहक नगरप्रमुख परविनसँग बुझ्न खोज्दा उनको मोबाइल स्विच अफ थियो ।
प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङसँग सम्पर्क गर्दा उनले आफू जिम्मेवारी सम्हालेको ६ महिना मात्र भएको बताउँदै ठाकुरले त्यसअघि नै नक्सा पास बापतको शुल्क बुझाइसकेपछि ३५ दिन भित्र स्थलगत निरीक्षण गरी नक्सा पास स्वीकृत वा अस्वीकृतको काम गरिसक्नुपर्ने प्रावधान रहेको जानकारी दिए।
पछिल्लो पटक वडा कार्यालयको सिफारिस तथा कार्यवाहक प्रमुखको आदेशमा संरचना निर्माण कार्यको काम रोकिएको र यसबारे आफूले अध्ययन गरी मात्र थप कुरा बताउन सकिने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
2
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको