राम नारायण यादव
राजविराज । सप्तरीको राजविराजस्थित बालमन्दिरको खेल मैदानमा बुधबार आगलागी नियन्त्रणको अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा सुरक्षा निकायले घरमा आगो लाग्दा नियन्त्रण गर्ने विधिको विषयमा सप्तरीमा अभ्यास गरेका हुन् ।
राजविराजस्थित नेपाली सेनाको बरख गण, सशस्त्र प्रहरी बल ६ नं. गण र जिल्ला प्रहरी कार्यालय सप्तरीका सुरक्षाकर्मीले आगलागी नियन्त्रणको अभ्यास गरेका थिए । ८ वटा खरको छाना भएको टहरामा लगाइएको आगो सुरक्षाकर्मी र दमकलको सहायताले निभाइएको थियो ।
तराईमा भइरहेको आगलागीको घटनालाई न्यून गर्ने उद्देश्यले घरमा लागेको आगो निभाउने तरिकाको बारेमा नेपाली सेनाका सुरक्षाकर्मीहरुले नमूना अभ्यास गरेका थिए । सो अवसरमा आगो निभाउने विधिका बारेमा समेत जानकारी गराइएको थियो । आगलागीको सूचना प्रवाह गराउनेदेखि सावधानीपूर्वक आगो निभाउने, घाइतेको उद्धार र उपचार, घरभित्र भएका सामान निकाल्ने, क्षतिको मूल्यांकन गर्ने लगायतका प्रक्रियाको अभ्यास गरिएको थियो । आगो राजविराज नगरपालिकाको दमकल पुगेर आगलागी नियन्त्रणमा लिएको थियो ।
सुरक्षा निकायलाई विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा राख्नुका साथै समुदायस्तरमा सुरक्षितरुपमा आगलागी नियन्त्रण गर्ने ज्ञान, सीप र सन्देश प्रवाह गराउन नमूना अभ्यास गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउँनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
4
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost