
विनय कर्ण
राजविराज । नेपाल कायस्थ महासंघको प्रथम राष्ट्रिय महाधिवेशन एवं वार्षिक साधारण सभा शुक्रवार राजविराजमा आयोजना गरिएको छ ।
देशैभरि रहेका कायस्थहरु सम्बद्ध संस्थाहरुलाई जोडेर छाता संगठनको रुपमा गठन भएको महासंघको महाधिवेशन आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाली काँग्रेसका नेता एवं सांसद विमलेन्द्र निधिले अल्पसंख्यकको रुपमा रहेपनि कायस्थ जातीले मुलुकको हरेक क्षेत्रमा योगदान रहेको बताए। उनले राजनीतिक दलका हिसावले विभिन्न ठाउँमा विभक्त रहेर पनि जातिय उत्थान तथा समाजिक उत्थानका लागी कायस्थ समुदाय एकिकृत भएर अगाडी बढ्नु पर्नेमा जोड दिए ।
उनले जातीय संस्कृतिको जर्गेना सहित समाजिक विकासमा अझ एकताबद्ध भई लाग्न कायस्थ समुदायका अगुवालाई आग्रह गरे ।
सोही अवसरमा निधिले नेपाल कायस्थ महासंघले प्रकाशन गरेको “कायस्थ स्मारिका २०८०” को विमोचन गर्दै महासंघको वेवसाइटको पनि उनले शुभारम्भ गरेका छन्।
कार्यक्रममा कायस्थ जातिको उत्थानका लागी योगदान पुर्याएका विभिन्न ब्यक्तीत्वहरुलाई प्रमुख अथिती निधीले मिथिला पाग, दोसल्ला र कदरपत्रबाट सम्मान गरेका थिए ।
कार्यक्रममा महासचिव शिवचन्द्र लालले साँगठनीक तथा कोषाध्यक्ष सन्तोष किशोर लाभले प्रस्तुत गरेको कोषाध्यक्षीय प्रतिवेदन साधारणसभाले पारित गरेको छ ।
फरक प्रसंगमा निधिले प्रधानमन्त्री प्रचण्डले उथलपुथलका कुरा भन्दा पनि जनताको समस्या र देशको विकासका कुरा बढी गर्नुपर्ने बताएका छन् ।
‘प्रधानमन्त्री प्रचण्डले पहिले पनि उथल पुथलका कुरा गर्नुहुन्थ्यो, उनले भने “हिजो पनि यस्तै कुरा गरेर राजनैतिक अन्यौलता सिर्जना गर्ने काम भएको छ ।”
उनले देशमा प्रयोग गर्नुभन्दा पनि जनताको मुल समस्या समाधानमा सबै राजनीतिक दल लाग्नु पर्ने बताए।
नेपाल कायस्थ महासंघका अध्यक्ष एवं सर्वाेच्च अदालतका पूर्व न्यायधिश लोकेन्द्र मल्लिकको अध्यक्षतामा आयोजित कार्यक्रममा महासंघका निर्वतमान अध्यक्ष आनन्द मोहन लाल दास, सर्वोच्च अदालतका पूर्व न्यायधिश कमल नारायण दास, महासंघको काठमाण्डौ जिल्ला अध्यक्ष संतोष किशोर लाभ, कायस्थ स्मारिका २०८० का मुख्य सम्पादक राजेश कुमार झा, राजर्षी विश्व विद्यालयका उपकुलपति डा.शैलेन्द्र नारायण मल्लिक, डा.गौरी शंकर लाल दास लगायतले पनि शुभकामना दिदै जातिय उत्थान संगै कायस्थ समाजको कला, कौशल तथा साँस्कृतिक विरासत जोगाउँदै सबै मिलेर अघि बढ्नु पर्नेमा जोड दिएका दिए ।