
आर एन यादव
राजविराज । मधेशका जिल्लाहरुमा आज हर्षोल्लासका साथ जुडशीतल (सिरुवा पर्व) मनाइँदै छ ।
प्रत्येक वर्षको वैशाख २ गतेका दिन बिहानैदेखि गाउँ–गाउँमा आफूभन्दा सानाको शिरमा(टाउकोमा) जल (पानी थपथपाएर) आर्शीवाद दिने गरिन्छ ।
बुबा,आमा, गुरु, मान्यजन एवम् ज्येष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा जल राखेर जल सिंचित गरी आर्शीवाद दिँदै पर्व मनाउने चलन छ ।
वर्षभरि शीतलता, सुख, समृद्धि, शान्ति, दीर्घायु एवम् उत्तरोत्तर प्रगति होस् भन्ने ठुलाबडा एवम् जेष्ठ सदस्यले आफूभन्दा सानालाई आशीर्वाद दिने गर्छन् । आजका दिन रुखविरुवामा पानी हाल्नुको साथै खेतबारीमा मलजल गर्ने परम्परा छ ।
सूर्यको तापबाट आकुलव्याकुल मानवलगायत रुखविरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य हो । नयाँ वर्षमा जल सिंचित गर्दा बालबालिकाको मस्तिष्क शीतल हुने र वर्षभरि नै उसले राम्रो काम गर्ने जनविश्वास रहेको छ ।
घर–घरमा विशेष परिकार बनाएर खाने चलन पनि यस पर्वमा छ । जुडशीतलको अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा रहेको छ ।