
काठमाडौं । केही समयअघि मात्रै विभाजनको सामना गरेको जनता समाजवादी पार्टी, नेपाल महाधिवेशनमा होमिँदैछ । जसपाको महाधिवेशन जेठ २८ देखि ३० सम्म जनकपुरधाममा हुँदैछ । अहिले जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव छन् । उपेन्द्र सर्वसम्मत रूपमा पुन : अध्यक्ष दोहोरिन चाहन्छन्, बिनाअवरोध अध्यक्ष छानिन चाहन्छन् । तर, उपेन्द्रको यो चाहनामा राजकिशोर यादव ‘बाधक’ देखिँदैछन् चर्चा यही छ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सभापतिसमेत रहेका राजकिशोरले पार्टी नेतृत्वमा पनि आकांक्षा देखाएका छन् ।
यसबारे राखेको जिज्ञासामा राजकिशोर यादवबले धेरै बोल्न खोजेनन् तर, सङ्केत भने गरे । “पार्टीले भर्खरै विभाजन भोगेको छ । यस्तोमा पार्टीलाई एकजुट बनाएर लाने भन्नेमा नै केन्द्रित छौँ । त्यो कसरी हुन्छ भन्नेबारे छलफलरत छौँ,” राजकिशोरले भने । नेतृत्वमा तपाईंको आकांक्षाचाहिँ हो कि होइन ? भन्ने प्रश्नमा उनको जवाफ थियो, “अहिले कसरी हिँड्ने भन्नेबारे छलफलमा छौँ, भनिहालेँ मैले ।” त्यसो त राजकिशोर पार्टी अध्यक्षमा उपेन्द्रलाई टक्कर दिन चाहन्छन् । उनले यसबारे आफूनिकटका नेतासँग शनिबार छलफल गर्न लागेका छन् । राजकिशोरबारे पार्टीका अन्य नेतलाई जानकारी भने छैन ,।
अध्यक्षमा उपेन्द्रबाहेक कोही नआउने जसपाकमा नेताहरू बताउछन । त्यसो त उपेन्द्रले पार्टी एकताका नाममा महाधिवेशन टार्दै आएका छन् । उनले आफ्नो पार्टी जीवनमा महाधिवेशनको सामना एकपटक मात्रै गरेका छन् । २०५४ सालमा एउटा सामाजिक संस्थाको रूपमा गठन भएको तत्कालीन मधेसी जनअधिकार फोरम, नेपालको पहिलो महाधिवेशन २०६० साउन १० र ११ गते विराटनगरमा भएको थियो । त्यहाँबाट यहाँसम्म आइपुग्दा फोरम जसपाको रूपमा छ । उपेन्द्रले विभिन्न पार्टीसँग एकता गर्दै महाधिवेशन टार्दै आएका छन् । उपेन्द्रले पहिलो महाधिवेशनको सामना गरेको २१ वर्षपछि दोस्रो महाधिवेशन खेप्दैछन् । जहाँ, राजकिशोरले टक्कर दिने आकांक्षा देखाएका छन् ।