
राजविराज । नेपाल पत्रकार महासंघ शाखा सप्तरीका काेषाध्यक्ष एवम् राजविराज दैनिकका पत्रकार नवीनकुमार गुप्तामाथि अभद्र ब्यवहार गर्दै ज्यानमार्ने धम्की दिनेलाई कारबाही नगरेको भन्दै नेपाल पत्रकार महासंघ सप्तरीले आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।
महासंघका सचिव राम नारायण विश्वासले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै तीनदिने चरणबद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको जानकारी गराएका हुन् ।
ज्यान मार्ने धम्की दिने महादेवा गाउँपालिकाका अभिषेक मण्डलमाथि कानुन बमोजिम कारबाहीकाे लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा महासंघले लिखित पत्राचार गर्दा समेत प्रहरी गम्भीर नदेखिएकोले आन्दोलन गर्नु बाध्य भएको जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
महासंघको आन्दोलनका कार्यक्रम अनुसार जिल्ला प्रशासन कार्यालयमा बिहीबार(१७ साउन) ज्ञापन पत्र बुझाउने, शुक्रवार(१८ साउन)देखि सप्तरी प्रहरीकाे समाचार बहिष्कार गर्ने,शुक्रवारै(१८ साउन)देखि हातमा कालाे पट्टि बाँधेर सप्तरीका पत्रकारले काम गर्ने रहेको छ ।
महासंघले घोषणा गरेको पहिलो चरणको आन्दोलनबाट समेत सुनुवाइ नभए सशक्त आन्दोलनमा उत्रन बाध्य हुने सचिव विश्वासद्वारा जारी प्रेस विज्ञप्तिमा चेतावनी समेत दिईएको छ ।
यस अवधिमा पनि पत्रकार धम्काउने मण्डलमाथि प्रहरीले कारबाही नथालिए दाेश्राे चरणकाे थप सशक्त संघर्षका कार्यक्रम सार्वजनिक गर्न महासंघ बाध्य हुने जानकारी गराउँदछु जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।