
ओम प्रकाश साह
राजविराज । ‘‘पहिने कुर्सी तबने जमिन’’ समाचार संकलन गर्न जाँदा शम्भुनाथ नगरपालिका वडा नम्बर–४स्थित सखुवा टोल नजिक रहेको वडा कार्यालयको पूर्वपट्टी स्वास्थ्य चौकीको निर्माणधिन भवनको फोटो खिचेर वडा कार्यालय अगाडी एक स्थानीय अभिभावक सँग स्वास्थ्य चौकी बनिरहेको जग्गादाता को हो ? नाम के हो ? स्थानीयले पूर्व उत्तर तिर ओला देखाउँदै स्वास्थ्य चौकीको भवन देखि पूर्वपट्टी बाँझो खेतमा भैसी चराई रहेको त्यही हो, कुसुमलाल चौधरी उसैले त्यो जग्गा दिएको बताए ।
त्यहीबाट मोटरसाइकल फर्काएर जग्गादाता कुसुम लाल चौधरी भैसी चराई रहेको स्थानमा पुगे । चौधरी सँग स्वास्थ्य चौकीे भवनको जग्गाबारे समान्य जानकारी लिए । जग्गादाता चौधरीेले ‘‘पहिने कुर्सी तबने जमिन’’ उनको भनाईको अर्थ पूर्व वडा अध्यक्ष अरुण चौधरी सँग जग्गाको सन्दर्भमा कुरा हुँदा परिवारको एक जना सदस्यलाई जागिर दिने सर्तमा चौधरीले १ कठ्ठा जग्गा स्वास्थ्य चौकी भवनका लागि दिने मौखिक सहमति भएको उनले बताए । २०७६/०७७ सालमा स्वास्थ्य चौकी निर्माणका लागि संघ सरकारबाट बजेट आएपछि भवन निर्माण गर्नका लागि जग्गादाता चौधरी सँग जग्गा लिई भवन निर्माण कार्य सुरु गरेका थिए । तर जग्गादातालाई दिएको बचन वडा कार्यालयले पुरा नगरेपछि यतिबेला स्वास्थ्य चौकीको भवन विवादित रहेका छन् ।
वडा नम्बर–४ का वडा अध्यक्ष विजय कुमार साहले पूर्व अध्यक्ष चौधरीकै पालामा स्वास्थ्य चौकी को अधुरा भवन निर्माण भएको र यति बेला जग्गा धनी सँग पनि कुरा गर्दा परिवारजनलाई जागिर दिनु पर्ने माँग गर्दा ज्यालादारी वा कार्यालय सहयोगीको रुपमा जागिर दिन तयार हुँदा पनि दाता परिवार जग्गा पास गर्न मान्नेन । उनले जग्गादाता परिवारको इच्छा अनुसारको परिवारजनलाई जागिर दिन अवस्था नरहेकोेले कुरा नमिलेको बताए ।
स्थानीय सरकार मातहतमा रहेका सम्पूर्ण शाखाका गतिविधिबारे पूर्ण जिम्मेबारी नगरपालिकाको हुन्छ । तर सो विषयमा केही जानकारी नरहेको र पहिलाकै प्रशासकीय अधिकृतको कार्यकालमा भएको कारण आफु अनभिज्ञ रहेको प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सोनुले बताउँछन् ।
शम्भुनाथ नगरपालिको वडा नम्बर–४ स्थित निर्माणधिन रहेको स्वास्थ्य चौकी आ.व. २०७६÷०७७ मा संघीय सरकारबाट रु. ३८ लाख ८६ हजार ९सय २० रुपैयाको लागतमा निर्माण हुने ४ कोठा भवनको १७ लाख ८५ हजार ६ सय २० रुपैयाको लागतमा छत ढलान सम्मको कार्य पुरा गरेका छन् ।
शम्भुनाथ नगरपालिकाले त्यति बेला सिधै टेण्डर प्रक्रियामा नगई विभिन्न निर्माण व्यवसायीलाई टुक्रे बजेटको कार्यआदेश दिई काम गराएका थिए । प्रयाग कन्ट्रक्सनले ४लाख २४ हजार ५ सय ३६ रुपैयाँ ४८ पैसामा जग खन्ने पुर्ने कार्य गरेको छ भने जि.एस. निर्माण सेवाले ४लाख ६३ हजार ८४ रुपैयाँमा कार्यालय सम्म बाटो निर्माण कार्य , मधुवन कन्ट्रक्सनले ४ लाख ४० हजार ९सय ८९ रुपैयाँको लागतमा पि.सी.सी. र इन्टरनेशलन रामजानकी कन्ट्रक्सनले रु. ४ लाख ५७ हजार ११ रुपैयाँ ४५ पैसाको लागतमा प्रथम तल्लाको काम गरि जम्मा बजेट रु. १७ लाख ८५ हजार ६सय २० रुपैया ९३ पैसाको लागतमा स्वास्थ्य चौकी भवन निर्माण कार्य भएको हो ।
यो स्वास्थ्य चौकीको निर्माण कार्यमा लिएको बजेट सार्वजनिक खरिद नियमावली २०६४ अनुसार विपरित रहेको महालेखा परीक्षकले अनियमित भुक्तानी भएको प्रतिवेदनमा उल्लेख गरेको छ ।
वडा नम्बर– ४ का तत्कालिन वडा अध्यक्ष अरुण कुमार चौधरीको पालनामा सो स्वास्थ्य चौकी निर्माण भएको वर्तमान वडा अध्यक्ष विजयी कुमार साहले जानकारी दिए ।
नगरपालिकाका स्वास्थ्य चौकी इन्चार्ज महेश यादवले स्वास्थ्य भवनको बजेटबारे आफूलाई केही जानकारी नभएको बताउँछन् ।उनले नगरपालिका वडा नम्बर–२, ४, ६, ७ र ११ मा चार वर्ष अघि नै भवन निर्माण कार्य सुरु गरेको तर हाल सम्म पनि कुनै भवन पुरा हुन सकेको छैन । भवन पुरा नहुँदा स्वास्थ्य उपचार गर्न सेवाग्राहीहरुलाई कठिनाई भइरहेको जानकारी दिए ।