काठमाडौं । पाकिस्तानमा एक जना अवकाशप्राप्त शिक्षकलाई प्रहरीले यातना दिएको घटना बाहिरिएको छ ।
पाकिस्ताबाट प्रकाशित हुने एक्सप्रेस ट्रिब्युनका अनुसार सिन्ध प्रान्तको सिनजोरो क्षेत्रमा चोरी गरेको मिथ्या आरोप लगाउँदै अवकाशप्राप्त शिक्षकलाई प्रहरीले यातना दिएको हो । प्रहरी चौकीमा बोलाएपछि त्यहाँका प्रमुखले आफूलाई गाली गरेको पीडितले बताएका छन् । त्यसपछि प्रहरीले कुटपिट गरेको र बिजुलीको झड्कासमेत दिएको उनको भनाइ छ ।
दुई दिनपछि आफूलाई बेहोस अवस्थामा छाडिएको पीडितलाई उद्धृत गर्दै ट्रिब्युनले जनाएको छ । बिजुलीको झड्का दिएसँगै आफ्नो आँखाको ज्योतिसमेत गुमेको उनले जनाएका छन् ।
अदालतले पीडितलाई यातना दिने प्रहरी चौकी प्रमुख र अन्य १६ प्रहरी अधिकारीविरुद्ध उजुरी दर्ता गर्न आदेश दिएको छ ।