राजविराज । मधेशका जिल्लाहरुमा आजदेखि जितिया पर्व सुरु भएको छ ।
सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने यो पर्व मिथिला क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि सुरु भएको हो ।
श्री जानकी भित्तेपात्रोमा रहेको मिथिला पञ्चाङ्गअनुसार मिथिलाञ्चलभरिमा आज ओंगठन, असोज ८ गते मङ्गलबार जितिया व्रत र असोज ९ गते बुधबार साँझ ५ः१५ बजे जितिया व्रत पारण उल्लेख रहेको कारण मिथिलाञ्चलमा आजदेखि जितिया व्रत सुरु भएको हो ।
तिथिको हेरफेर अनुसार यस वर्ष मिथिलाञ्चलमा आज नहा खा (नुहाएर खाने) विधिबाट सुरु हुने जितिया पर्वमा व्रतालु महिलाहरु मङ्गलबार बिहान ४ बजेदेखि मङ्गलबारको दिनभरि र रातभरि तथा बुधबार दिनभरि उपवास बस्नुपर्ने छ भने बुधबारकै दिन साँझ ५ः१५ बजे पारण गर्दै व्रत सम्पन्न गर्ने पञ्चाङ्गमा उल्लेख रहेको छ ।
व्रत (उपवास) बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जितमाहन देवता र आफ्ना दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादका रुपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् ।
त्यसैगरी, भोलि (मङ्गलबार) बिहान ४ बजेदेखि उपवास बसी निराहार एवं निर्जल व्रत बसी पर्सि (बुधबार) साँझ ५ः१५ बजे व्रत सम्पन्न गर्नेछन् ।
देवतालाई चढाएकै तेलमध्येबाट आ–आफ्ना शाखासन्तानलाई पनि प्रसाद रुपमा सोही तेल लगाइदिने चलन छ ।
व्रतको पहिलो दिन (आज) पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ, जसलाई स्थानीय भाषामा ‘माछ मरुवा (कोदो )’ भनिन्छ ।
त्यसैगरी, विधिअनुसार भोलि एकाबिहानै काग कराउनुभन्दा पहिल्यै व्रती (व्रतालु) महिलाहरु ओङ्गठन सम्पन्न गर्नुपर्छ अर्थात् केही खानेकुरा ओँठमा लगाउनुपर्छ । प्रायः जसो महिलाहरुले ओङ्गठनमा च्यूरा, दही खाने गरेको पाइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost