
राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा भईरहेको अनियमिततामा ब्रेक नलागेपछि नेकपा एमालेबाट राजिनामा दिने क्रम बढदै गईरहेको छ । पालिकमा भ्रष्टाचार बढेको भन्दै नेकपा एमालेका गाउँ कमिटी अध्यक्षले पनि राजिनामा दिएका छन । डाक्नेश्वरी वडा नम्बर–१ का गाउँ कमिटि अध्यक्ष धीरेन्द्र कुमार साहले बुधबार एक विज्ञप्ती जारी गर्दै, पार्टीको साधारण सदस्य समेतवाट राजिनामा दिएका हुन । उनले पार्टी नेतृत्व भ्रष्टाचारमा लिप्त रहेका कारण आफु राजिनामा दिएको बताए । साह नगरपालिका वडा नम्बर–१ का नेकपा एमालेको तर्फवाट अध्यक्ष पदको प्रत्यासी पनि थिए । यस अधि नेकपा एमालेका नगर इन्चार्ज तथा वडा नम्बर – ९ का वडाअध्यक्ष कर्णदेव चौधरीले नगर इन्चार्ज पदबाट राजिनामा दिएका थिए ।
निर्वाचनमा जनता समक्ष गरेको प्रतिबद्धता अनुसार पालिकाबाट भ्रष्टाचार मुक्त शुसासन कायम गर्न असफल भएको भन्दै उनले नेकपा एमाले जिल्ला कमिटिलाई पत्र लेख्दै राजिनामा दिएको थियो ।
‘स्थानिय तहको चुनावमा पार्टीको तर्फबाट भ्रष्टाचार नियन्त्रण, सुशासन कायम गर्ने प्रतिवद्धता जनतासंग गरेपनि अढाई बर्ष वित्न लाग्दा पनि कायम हुन नसकेपछि पटक–पटक छलफल भएर सहमति पनि भएको तर, कागजकै खोस्टोमा सिमित रहेका कारण राजिनामा दिनुु परेको उनले बताए ।
उनले भ्रष्टाचार सुशासन कायम गर्न नसकेकोमा नगरप्रमुख रामलखन मलाह दोषी रहेको बताए । ‘यसमा नेतृत्व पंक्ति दोषी छ’ उनले भने ।
गत स्थानीय निर्वाचनमा नगरपालिको मेयर र उपमेयर समेत एमालेकै उम्मेदवार निर्वाचित भएको तथा आफु दोश्रो पटक वडाअध्यक्षमा निर्वाचित भएपनि नगरपालिकामा बढ्दो भ्रष्टाचारलाई नियन्त्रण गर्न असफल भएको पत्रमा उल्लेख गरेका छन् ।