राजविराज । बिक्की अर्थात् विदेश्वर प्रसाद यादव । सप्तरीको मात्र नभई मधेश प्रदेशको चर्चित नाम हो, यो । सप्तरी क्षेत्र नम्बर ३ को ‘ख’ बाट २०७४ सालको निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए उनी । उनै बिक्की २०७९ सालको निर्वाचनमा भने यो क्षेत्रबाट ४८ मतले प्रदेश सभा सदस्य पदमै पराजित भए ।

निर्वाचनमा पराजित भएपनि आफ्नो क्षेत्रका जनताका लागि काम गर्न अहिले पनि कृयाशिल देखिएका छन् उनी । आफ्नो निर्वाचन क्षेत्रको सडक, पुल निर्माण गराउनेदेखि जनताको हरेक सुखदुःखमा सहयोगीको भूमिका निर्वाह गर्दै आएका उनी चालू आ.ब. २०८०/८१ मा पनि यो क्षेत्रको विकासका लागि बजेट ल्याउन पहलकदमी लिएका छन् ।

निर्वाचनमा पराजित भएपछि हतोत्साहित हुन्छन् कतिपय उम्मेदबार । तर, उनले प्रदेश सरकारसँग निरन्तर समन्वय गरी आफ्नो क्षेत्रका लागि बजेट ल्याएका छन् । चालू आ.ब. २०८०/८१ मै उनले एक दर्जनभन्दा बढी योजना प्रदेश सरकार मार्फत् ल्याएका छन् । उनले ल्याएका अधिकांस योजना भने कार्यान्वयनमा गइसकेको छ ।

सडक निर्माण, सामुदायिक भवन निर्माण, नदी नियन्त्रणसहितका लागि बजेट ल्याउन पहल गरेको उनी बताउँछन् । ‘म झिनो मत अन्तरले पराजित भएँ । तर पराजित भएपनि हारेको छैन्’ उनी भन्छन्, ‘म यो क्षेत्र र यहाँका जनताका लागि सदैब कृयाशिल रहनेछु ।’

के छ उनले ल्याएका योजना ?

निबर्तमान प्रदेश सभा सांसद यादवले प्रदेश सभा निर्वाचन क्षेत्रको बिभिन्न ठाउँका लागि बिभिन्न योजना आफ्नै पहलमा ल्याएका छन् । सबै योजना प्रदेश सरकारबाट समन्वय गरी ल्याएको उनी बताउँछन् ।

राजगढ गाउँपालिका ३ मा आरसिसी सडक ढलानका लागि रु २५ लाख, सोही गाउँपालिकाको वडा नम्बर ६ इनर्वा गाउँमा सामुदायिक भवन निर्माणका लागि रु २५ लाख बजेट उनको पहलमा आएको छ । यादव दुबै योजनाको शिलान्यास भइसकेको र काम पनि अघि बढिसकेको बताउँछन् ।

डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर ५ र ६ मा आरसीसी ढलान, वडा नम्बर ६ मा सामुदायिक भवन निर्माणको योजना आफूले ल्याएको उनी बताउँछन् ।

राजगढ गाउँपालिकाको ४ जमुवा चोकदेखि नर्घाे हुँदै झौहरा चोकसम्मको ५ किलोमिटर कालोपत्रे तथा ढलान सडक निर्माणलाई यस पटक पनि निरन्तरता दिइएको छ भने डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर १० हुलाकी सडकदेखि बनौला हुँदै भारतीय सीमासम्मको कालोपत्र सडक निर्माणको कामलाई यस पटिक निरन्तरता दिइएको छ । यादवले यो कालोपत्रे संघीय सरकारको सहयोगमा निर्माण भएको बताए  ।

उनी डाक्नेश्वरी १ मा बर्थिङ सेन्टर निर्माणका लागि प्रदेश सरकारबाट रु २५ लाखको बजेट विनियोजन गराएका छन् ।

पूर्व प्रदेश सभांसद यादवले नदी तटबन्ध निर्माण र सिंचाईतर्फ पनि आफ्नो ध्यान केन्द्रीत गरेका छन् । डाक्नेश्वरी ५ मा पक्की पैनी निर्माणका लागि रु २० लाख, वडा नम्बर ६ को खडक तटबन्ध निर्माणका लागि रु २० लाख बजेटको जोहो गराइदिएका छन् ।

गत आ.ब.देखि शुरु भएको र बजेट अभावमा पूरा हुन नसकेको कामलाई पनि आफूले प्राथमिकतामा राखेर अघि बढाइएको उनी बताउँछन् । डाक्नेश्वरी नपास्थित बनहार सिंचाई योजना, खडक पाँची सिंचाई योजना, सिसुवा नदी सिचाई योजना, हकराहा नदी सिंचाई योजना, कजरा सिंचाई योजना, मुतनी सिंचाई योजनालाई निरन्तरता दिइएको उनले बताए ।

यस्तै, राजगढ गाउँपालिका ४ स्थित मुतनी सिंचाई योजना, डाक्नेश्वरी ४ भुतहीस्थित खडक नदीको तटबन्ध निर्माणलाई पनि यस पटक निरन्तरता दिइएको उनले बताए ।

‘ल्याइएका योजनामा कुनै लोभ, लालच नराखी इमान्दारीूर्वक काम गराइरहेका छौं’ यादव भन्छन्, ‘विकासका लागि राजनीति नगरी अघि बढिरहेको छु ।’

विकाससँगै छुवाछुत हटाउने प्रयास

निबर्तमान प्रदेश सभा सदस्य यादव बजेट मात्रै ल्याएका छैनन् जातीय छुवाछुत हटाउन पनि प्रयत्नशिल देखिएका छन् । विकास सँगसँगै छुवाछुतको पनि अन्त्य होस् भन्ने चाहना राखेर काम अघि बढाइएको बताउँछन् उनी ।

डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ औरहीमा निर्माण हुन लागेको आरसीसी सडक ढलानको शिलान्यास डोम समुदायबाट गराए । मधेशमा अत्यन्तै पछि परेका डोम समुदायका राजेन्द्र लाल मरिकबाट यो सडक शिलान्यास गरे । मरिकले नै पूजापाठ समेत गरेका थिए ।

यसले जातीय छुवाछुतको अन्त्य हुने विश्वास छ’ उनी भन्छन्, ‘विकास सँगसँगै छुवाछुतजस्ता कुरीतिहरु हटेपछि सभ्य समाजको स्थापना हुन्छ । र, विकासको गति झन् बढ्छ ।’

यादव आफू प्रदेश सभा सदस्य रहँदा जनता आवास कार्यक्रमका जिल्ला संयोजक पनि थिए । उक्त समयमा जिल्लाभरिका झण्डै ७ सय डोम परिवारका लागि आवास पनि निर्माण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
127
5
0
8
1
2
1

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको