
विनय कर्ण
राजविराज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेश सरकार परिवर्तनको हल्ला निराधार रहेको बताएका छन् ।
राजविराजमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले केही दिन यता प्रदेश सरकार परिवर्तन बारे हल्ला चलिरहेको तर त्यसमा सत्यता नरहेको बताए ।
विभिन्न दलको सहभागितामा बनेको वर्तमान सरकार आपसी विश्वास र समन्वयबाट संचालन भईरहेकोले सरकारमा जानका लागि कुनै दलले प्रयास गर्दैमा सरकार परिवर्तन नहुने उनले स्पष्ट पारे ।
जनता समाजवादी पार्टी नेपाललाई लक्षित गर्दै ‘सात वर्षसम्म सरकारको नेतृत्व गरेको जसपा नेपाल फेरी पनि सत्तामा जान चाहनु कुनै आश्चर्यजनाक छैन्’ मुख्यमन्त्री सिंहले भने, ‘बलियो बहुमतका साथ रहेको आफ्नो नेतृत्वको सरकारलाई केही फरक पर्दैन ।’
जनताका समस्यालाई प्राथमिकतामा राखेर सरकार काम गरिरहेको भन्दै उनले विभिन्न दलको सहभागिता रहेका कारण मिलाएर लैजाने क्रममा चाहे जतिको गति प्राप्त गर्न नसकेको समेत बताए ।
‘तथापी, हामीहरु काम गर्नका लागि प्रतिबद्ध छौं’ उनले भने, ‘सबैको एकैनासको कार्य क्षमता नहुन सक्छ ।’
विगतका सरकारको पालामा प्रक्रिया नपुर्याई गरिएको नियुक्तिका कारण पनि काम गर्न अफ्ठ्यारो भइरहेको भन्दै उनले विगतका कमिकमजोरी सुधार गरेर अगाडी बढ्न त्यसबारे छानविन भईरहेको जानकारी दिए ।
मधेश प्रदेश कृषि विश्वविद्यालयमा १० लाख मात्र न्युन बजेट छुट्याइएको विषयमा संचारकर्मीहरुले राखेको जिज्ञासामा उनले कर्मचारीले गरेको त्रुटीका कारण यस्तो हुन गएको र आउने दिनमा त्रुटी सच्चाईने स्पष्ट पारे । ‘विश्वविद्यालको खातामा अहिले पनि २५/३० करोड रहेका कारण काममा कुनै बाधा पर्ने छैन्’ उनले भने ।
विगतमा प्रक्रिया मिचेर विश्वविद्यालयको रजिष्टार नियुक्ति गरिएको भन्दै उनले त्यहाँ काममा भन्दा पनि कमिशनको खेल बढी हुने गरेको दावी गरे ।
प्रदेशमा रोजगारी सृजनाका लागि आफूहरुको ध्यान केन्द्रित रहेको बताउँदै उनले महिलालाई समेटेर कृषि क्षेत्रको आधुनिकीकरणका लागि रोजगारी उपलब्ध गराउने योजनामा काम भईरहेको पत्रकार सम्मेलनमा जानकारी दिए ।
पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा आयोजना गरिएको पत्रकार सम्मेलनमा मुख्यमन्त्री सिंहले मधेश प्रदेशमा रहेको साक्षरताको न्यून अवस्थालाई उकास्न शिक्षा नीति तयारी गर्ने र सोही अनुसार अघि बढ्ने विश्वास व्यक्त गरे ।