विनय कर्ण
राजविराज । मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले संघियता आएपछि देशमा विकास भएको बताएका छन् ।
सप्तरीको सप्तकोशी नगरपालिका ४ स्थित फत्तेपुरमा शुक्रवार मधेश प्रदेश मिडिया काउन्सिलले आयोजना गरेको पत्रकार आचारसंहिता पालना सम्बन्धि गोष्ठीमा उनले यस्तो बताएका हुन् ।
‘संघीयता आएपछि मुलुक झनै विकासको तर्फ अग्रसर भएको छ’ उनले भने, ‘१० वर्ष अघि संघियताले देश बिखण्डन हुने तर्क गर्नेहरु अहिले गलत सावित भएका छन् । यसतर्फ पत्रकारहरुले कलम चलाएर जवाफ दिनु पर्ने बेला आएको छ ।’
नेपालमा ७ वर्ष अघि मात्र आएको संघीयताले साईकल समेत चल्न नसक्ने गाउँमा गाडी चलिरहेकोले संघीयता आएपछि ग्रामिण क्षेत्रमा विकास भएको उनले तर्क गरे । ‘ संघीयता आएपछि गाउँमा विकास भएको छ’ उनले भने ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री लेखिले संघीयताले राष्ट्रियतालाई झनै बलियो बनाएको विश्वास व्यक्त गरे ।
अहिलेको परिवेशमा सूचना प्रबिधिको विकाससंगै प्रतिस्पर्धा पनि बढेकाले पत्रकारहरुमा पनि दक्षताको अभिबृद्धि हुनु आवश्यक रहेको उनले बताए ।
२०४६ भन्दा अघि मिशन पत्रकारिता, बहुदलीय व्यवस्था आएपछि अर्को परिस्थिति र अहिले सूचना प्रबिधिको विकाससंगै प्रतिस्पर्धाको समय आएको भन्दै मन्त्रि लेखिले समयानुकूल  पत्रकारहरुमा पनि दक्षता अभिबृद्धि हनुपर्नेमा जोड दिए ।
संघीयताको आएपनि अहिले सम्म प्रदेशले अधिकार पाउन नसकेको प्रति असन्तुष्टि व्यक्त गर्दै संविधानले प्रदान गरेको अधिकारबाट प्रदेशले बञ्चित हुनु परेको प्रति पत्रकारहरुले कलम चलाउनु पर्ने आवश्यकता औल्याए ।
संविधानले व्यवस्था गरेको स्वायत्त क्षेत्र, स्वायत्त ईलाकाका विषयहरु कार्यान्वयनमा आउन नसकेको प्रति चिन्ता व्यक्त गर्दे उनले राजनीतिकर्मी र पत्रकार दुबैले यो विषय उठाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा प्रदेश सांसद किरण कुमारी साहले राज्यको चौथो अंग मानिएको सञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र पत्रकारहरुको जीवनयापन हुने गरि प्रदेशसभामा नीति, कार्यक्रम तथा ऐन ल्याउन आवश्यक रहेको बताईन् ।
उनले यसतर्फ मन्त्रि लेखीको ध्यानाकर्षण गराउँदै त्यसमा आफुले पनि यसका लागि पहल गर्ने प्रतिबद्धता जनाइन्।
मधेश प्रदेश नीति तथा योजना आयोगकी सदस्य डा. शिला मिश्रले मिडियाको विकाशका लागि नीती तथा योजना आयोग र मन्त्रालयहरुबीच समन्वय गरेर मधेश प्रदेशका आठ वटै जिल्लाका लागि आवधिक योजना बनाएर अघि बढ्न थालेको जानकारी दिईन् ।
पत्रकार महासंघ मधेश प्रदेशका सभापति राजेश कर्णले पत्रकार आचार संहिता प्रस्तुत गर्दै मिडिया क्षेत्रमा देखिएका समस्या, चुनौती र त्यसमा पत्रकार संघ संगठन र राज्यले खेल्नुपर्ने भुमिका बारे आवश्यक सुझाव दिएका थिए ।
मधेश प्रदेश मिडिया काउन्सिका कार्यवाहक अध्यक्ष कैलाश दासको अध्यक्षतामा आयोजित कार्यक्रममा समन्वयकर्ता पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव, सप्तकोशी नगरपालिकाका मेयर कृष्ण ढकालका साथै सहभागी पत्रकारहरुले पनि पत्रकार आचारसंहिताको पालना कार्यान्वयन बारे आ–आफ्नो धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1
1
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको