
राजविराज । सप्तरी जिल्लाको राजविराज नगरपालिकामा अनियन्त्रित र खुल्लेआम सञ्चालनमा रहेका मदिरा पसल तथा भट्टीहरुलाई नियन्त्रण गर्न तराई–मधेश महिला फाउण्डेशनले ध्यानाकर्षण गराएको छ ।
सोमबार फाउण्डेशनकी अध्यक्ष सुनिता साहको नेतृत्वमा राजविराज नगरपालिकाको कार्यवाहक मेयर इसरत परविनलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
‘राजविराज नगरपालिका क्षेत्र भित्रका अव्यवस्थित रुपमा मदिरा पसलहरु संचालन गर्न इजाजत दिइएको अवस्था विद्यमान रहेको छ । यसरी अव्यवस्थित मदिरा पसल संचालन तथा त्यसको समय सिमा केही नराखी जथाभावी तरीकाबाट मदिरा सेवन गर्ने व्यक्तिहरुले आफ्नो घर परिवार बाटो हिडने महिला, बालबालिकाहर प्रति भई रहेको असुरक्षा तया आतंकबाट बेचैन रहेको अवस्था प्रति हाम्रो गम्भीर ध्यानआकर्षण भएको छ ।’ ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
यसप्रकार खुलेआम जथाभावी मदिरा पसल संचालनको इजाजत, मदिरा सेवन गर्ने समय, बाटोघाटोमा मदिरा सेवन गरी गरिरहेको अभद्र व्यवहार र तनाव व्यवस्थापन गर्न गराउन नगरपालिकालाई ध्यानआकर्षण गराएको फाउण्डेशनकी अध्यक्ष क्रान्तिले बताएकी छन् ।
यस्ता कियाकलापलाई समयमा नियन्त्रण गर्न गराउन अपिल गर्दै उपरोक्त समस्या समाधानका लागि समयमै आवश्यक पहल नगरिए बाध्य भई विरोधका कार्यकमहरु अघि सार्ने चेतावनीसमेत दिइएको छ ।