
राजविराज । आफूखुशी अध्यक्षले विशेष गाउँसभा गरेको भन्दै बलान बिहुल गाउँपालिका उपाध्यक्ष सहितका जनप्रतिनीधीले विरोध जनाएका छन् ।
गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले मनपरी ढंगले बजेट विनियोजन गर्दै आफूहरुको अधिकार समेत विशेष गाउँसभाबाट कटौती गरेको बताउँदै उपाध्यक्ष रेणु यादव सहित ४ वडाअध्यक्षले विरोध जनाएको हो ।
उपाध्यक्ष रेणु सहित ४ जना वडाअध्यक्षले आईतवार गाउँपालिका कार्यालयमा पत्रकार सम्मेलन गरी विषेश गाउँसभा बाट गरिएका निर्णयहरु खारेज गरी गत असार १० मा गाँउसभाबाट भएको निर्णय कार्यान्वयन गर्न माग गरेका छन् ।
त्यस्तो नगरिए अध्यक्ष विरुद्ध आन्दोलन गर्ने चेतावनी समेत उनीहरुले दिए ।
कुल ६ वटा वडा रहेको पालिकामा अहिले अध्यक्ष यादवको विरुद्ध उपाध्यक्ष रेणुका साथै वडा नम्बर १ का वडाअध्यक्ष राम कुमार यादव, वडा नं २ का वडाअध्यक्ष इन्द्र देव यादव, वडा नं ४ का वडाअध्यक्ष लक्ष्मी नारायण झा, र वडा नं ६ का वडाअध्यक्ष सूर्य कुमार दास एकै ठाउँमा उभिएका छन ।
उनीहरुले न्यायिक समिति, बजेट तथा कार्यक्रम तर्जूमा समिति, राजश्व परार्मश समिति र अनुगमन समितिका संयोजक तथा गाउँसभामा निति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रमुख अधिकारीको रुपमा स्थानीय सरकार संचालन ऐनले नै उपाध्यक्षलाई संवैधानिक अधिकार प्रदान गरेको भन्दै उनको अनुपस्थितीमा एकलौटी ढंगले गरिएको विषेश गाउँसभाको निर्णयहरु कानुन संगत नरहेको उनीहरुको भनाई छ ।
गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले स्थानीय सरकार संचालन ऐनको परिछेद ४ को १९ नं. बुंदामा व्यवस्था भए बमोजिम गाउँसभा गरिएको बताए ।
उनले एक तिहाइ सदस्यको लिखित अनुरोधमा विधी प्रक्रिया मै टेकेर विषेश गाउँसभा सम्मपन्न गरेको प्रतिक्रिया दिए ।