
राजविराज । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा स्वतन्त्र विद्यार्थी युनियन (स्वबियू) निर्वाचन हुँदैछ । मंगलबार (आज) स्वबियू निर्वाचन हुँदैछ । निर्वाचन समितिका संयोजक नन्दकिशोर यादवका अनुसार निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
यो क्याम्पसमा ६ वटा मतदान केन्द्रमा १२ वटा बुथ राखिएको निर्वाचन समिति संयोजक यादवले बताए ।
यो क्याम्पसमा कुल ३ हजार १२ जना मतदाता छन् । मतदान गर्न सहज होस् भन्नका लागि १२ वटा बुथ राखिएको उनले बताए ।
निर्वाचनमा ५० जना कर्मचारी खटाइएको उनले जानकारी दिए ।
सभापति, सचिव, कोषाध्यक्ष र सदस्यमा प्रत्यक्ष तर्फ १० र समानुपाति तर्फ ९ गरी कुल १९ पदका लागि निर्वाचन हुनेछ ।
यी पदहरुमा ४१ जनाले उम्मेदवारी दिएका छन् ।
निर्वाचनमा नेपाल विद्यार्थी संघ र लोकतान्त्रिक विद्यार्थी संघको संयुक्त गठबन्धनबाट सभापति पदमा नितिशकुमार यादव, समाजवादी विद्यार्थी युनियन र अखिल (क्रान्तिकारी) को संयुक्त गठबन्धनबाट सभापति पदमा रंजितकुमार यादवले उम्मेदबारी दिएका छन् । रंजितले दोस्रो पटक पनि उम्मेदबारी दिएका छन् । यसअघि उनी निर्वाचित भएका थिए ।
विद्यार्थी जनमत संघबाट त्रिवेणीकुमार यादव, अनेरास्ववियुको तर्फबाट मनिषा कुमारी साह र स्वतन्त्र रुपमा विनयकुमार यादवले सभापति पदमा उम्मेदवारी दिएका छन् ।
समाजवादी विद्यार्थी युनियले टिकट नदिएपछि विनयले स्वतन्त्र उम्मेदबारी दिएका हुन् ।