
वीरगञ्ज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफू आगामी निर्वाचनसम्म प्रधानमन्त्री नबन्ने बताएका छन् ।
अध्यक्ष दाहालले २०८४ सम्म आफू प्रधानमन्त्री हुने दौडमा नरहेको जिकिर गरे । शुक्रबार वीरगञ्जमा पत्रकारहरूसँग कुरा गर्दै दाहालले आफू २०८४ सम्म जनताकै साथमा रहने र प्रधानमन्त्री नबन्ने बताए ।
सरकारमा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को भन्ने कुरा माओवादीमा लागू नहुने पनि उनले बताए । सरकारमा हुँदा भ्रष्टाचारबिरुद्धको आन्दोलन छेडेको दाहालको दाबी छ ।
वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउनका लागि बनेको आरोप लगाउँदै उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नराम्रो काम गर्नका लागि मात्र बनेको हो ।’
उनले अहिलेको सरकार भ्रष्टाचारीहरुलाई जोगाउने र नराम्रो गर्नेलाई पुरुस्कृत गर्ने काम गरिरहेको आरोप लगाउँदै भ्रष्टाचारी जोगाउने, बेथिति बढाउने, अराजकता बढाउने काम प्रधानमन्त्री ओलीले गरिरहेको आरोप लगाए ।
अध्यक्ष दाहालले भने, ‘मेरो नजरमा ओली सरकारको काम नराम्रो छ । उहाँहरूको काम भनेको भ्रष्टाचारीलाई बचाउने मात्रै छ । राम्रो काम गर्नेहरूलाई सताउने, अपमानित गर्ने, नराम्रो काम गर्नेलाई पुरस्कृत गर्ने नै केपीजीको सरकारको काम हो । त्यो कुरा कुलमानको कुराबाट सजिलै बुझ्न सक्नुहुन्छ । लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी माओवादीले पाउनुपर्ने हो, त्यो छैन । लेखा समितिको सभापतिलाई ठूला ठूला आरोप लागेका छन्, उहाँलाई चोख्याउनको लागि प्रधानमन्त्रीले पूरै तागत लगाउनु भएको छ ।’