
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आफूलाई न्याय गरेको बताएका छन् ।
आज एक अनलाइनसँग कुरा गर्दै शाक्यले सरकारले आफूलाई पुरानो योजना पूरा गर्ने अवसर दिएको बताए । आफूले यसअघि प्राधिकरणको कार्यकारी निर्देशक भएर पनि काम गर्न नपाएको उल्लेख गर्दै उनले अब ती योजनाहरू पूरा गर्नतर्फ लाग्ने समेत बताए ।
उनले आफूले साढे ३ वर्ष काम गर्न पाएको भए अहिलेको समस्या नै नआउने जिकिर गरे । शाक्यले भनेका छन्–‘मैले चार वर्षका लागि नियुक्ति पाएको थिएँ । तर उहाँ (कुलमान) ले उधारोको समय पाउनुभयो । तर, साढे ३ वर्ष काम गर्न पाइनँ । अदालतले पनि समयमै निर्णय नगरिदिँदा मेरो यो अवधिको योजना बनाउन सकिएन । सरकारले त्यति समय काम गर्न दियो भने न्याय हुन्छ भन्ने लागेको थियो सरकारले त्यही अनुसारले गरेको हुन सक्छ ।’
यद्यपि आफूले नियुक्तिको पत्र भने पाइनसकेको उनको भनाइ थियो । शाक्यले घरायसी ग्राहकलाई लोडसेडिङ नहुने समेत प्रस्ट पारेका छन् । बरु उद्योगमा भइहरेको लोडसेडिङको समयलाई न्यूनीकरण गर्ने आफ्नो प्रयास रहने उनको भनाइ थियो ।
शाक्यलाई सोमबारको मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।
शाक्यले भने–‘लोडसेडिङ भन्ने कुरा कोही भएर हुने, कोही नहुने भन्ने हुँदैन । लोडसेडिङ भनेको बिजुली नपुगेपछि हुने हो । पर्याप्त बिजुली भयो भने लोडसेडिङ पनि नहुने हो । अहिले पनि उता (भारत)को बिजुली यता दिएर व्यवस्थापन गरिएको हो । अहिले पनि लोडसेडिङ हटेको होइन, उद्योगमा लोडसेडिङ छँदैछ । घरघरमा लोडसेडिङ हुने सवालै छैन । उद्योगमा जसरी लोडसेडिङ भइरहेको छ, त्यसलाई हटाउने चाहिँ सूत्र मैले फलोअप गरिरहेको छु ।’