काठमाडौं । भारत सरकारले नेपालमा हुने आगामी निर्वाचनको तयारीका लागि उपलब्ध गराउने सहयोगअन्तर्गत पहिलो चरणको निर्वाचनसम्बन्धी सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

गृह मन्त्रालयमा मंगलबार आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय कार्यवाहक राजदूत (चार्ज द’अफेयर्स ए.आई.) डा. राकेश पाण्डेले गृहमन्त्री ओमप्रकाश आर्याललाई ६० भन्दा बढी डबल क्याब पिकअप गाडी तथा अन्य सामग्री हस्तान्तरण गरेका हुन् । यी सामग्री नेपाल सरकारले आगामी निर्वाचनको तयारीका क्रममा माग गरेका सहयोगअन्तर्गत पर्दछन् ।

कार्यक्रममा गृहमन्त्री आर्यालले भारत सरकार तथा भारतीय जनताप्रति सहयोगका लागि आभार व्यक्त गर्दै भारत–नेपालबीचको गहिरो, व्यापक र मैत्रीपूर्ण सम्बन्धको प्रशंसा गरे ।

सरकारको अनुरोधमा भारतले सन् २००८ देखि निर्वाचनसम्बन्धी सहयोग उपलब्ध गराउँदै आएको छ । यस अवधिमा भारत सरकारले निर्वाचन आयोगसहित नेपालका विभिन्न मन्त्रालय तथा निकायलाई करिब २ हजार ४ सय सवारीसाधन उपहारस्वरूप प्रदान गरिसकेको छ ।

आगामी निर्वाचनका लागि मात्र भारतले करिब ६ सय ५० सवारीसाधन सहयोग गर्ने जनाएको छ, जुन आगामी केही हप्तामा चरणबद्ध रूपमा नेपाललाई हस्तान्तरण गरिनेछ ।

भारत सरकारले निरन्तर प्रदान गर्दै आएको सहयोगले दुई देशबीचको बहुआयामिक तथा बहुक्षेत्रीय विकास साझेदारी झल्काउने मात्र नभई भारत र नेपालका जनताबीचको गहिरो विश्वास र मित्रताको प्रतीकसमेत भएको दुवै पक्षले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको