काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्नेलाई आयोगको स्वअनुसन्धानबाट कारबाही गरिने चेतावनी दिएको छ ।
निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जो-कोहीलाई उजुरीका आधारमा मात्र नभई आयोगको स्वअनुसन्धानबाट पनि कारबाही गरिने आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्ने उद्देश्यले सरोकारवालाको सहमतिमा आचारसंहिता जारी गरिएको उल्लेख गर्दै घिमिरेले आयोगका अनुगमन संयन्त्रबाट प्राप्त प्रतिवेदन तथा प्राप्त उजुरीको अध्ययन गरी कानूनअनुसार कारबाही प्रक्रिया अघि बढाइने बताए।
उनका अनुसार उम्मेदवारी मनोनयनका क्रममा मंगलबार केही आचारसंहिता विपरीतका गतिविधि भएको आयोगको ध्यानाकर्षण भएको छ र ती विषयमा अध्ययन भइरहेको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभर ३ हजार ४ सय ८६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये ३ हजार ८९ जना पुरुष, ३ सय ९६ जना महिला र १ जना अन्य समूहका उम्मेदवार रहेको आयोगले जनाएको छ ।
निर्वाचन कार्यतालिकाअनुसार मनोनयनपत्र दर्ता भएको उम्मेदवारको विरोधमा उजुरी दिने अवधि माघ ७ गते दिउँसो ३ः०० बजेदेखि माघ ८ गते बेलुका ५ः०० बजेसम्म रहेको छ । उजुरीउपर जाँचबुझ एवं निर्णय गरी त्यसै दिन बेलुकी ५ः०० देखि ७ः०० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने छ । माघ ९ गते बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।
माघ ९ गते दिउँसो १ः०० देखि ३ः०० बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन दिउँसो ४ः०० देखि साँझ ७ः०० बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ ।
फागुन ३ गतेदेखि फागुन १८ गते रातिसम्म औपचारिक चुनावी प्रचारप्रसार गर्न पाइनेछ । फागुन १८ गते रातिदेखि मौन अवधि लागू हुनेछ । मौन अवधिअघि घरदैलो तथा मतदातासँग भेटघाट गर्न पाइने भए पनि जुलुस, र्याली र आमसभा गर्न निषेध गरिएको आयोगले स्पष्ट पारेको छ ।
आगामी फागुन २१ गते १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ र ११० सिट समानुपातिकतर्फ निर्वाचन हुँदैछ ।







