झापा । झापाको कमल गाउँपालिकाका नेपाली काँग्रेस सचिव महेन्द्र बुढाथोकीले पार्टी परित्याग गरेका छन् ।
बुधबार बुढाथोकीले झापा-५ मा रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई जिताएर नयाँ राजनीतिलाई जित दिलाउने भन्दै कमल गाउँपालिकाको कार्यसमिति सचिव पदसहित पार्टीको साधारण सदस्यता समेत नरहनेगरि राजीनामा दिएका हुन्।
काँग्रेस परित्याग गरेका बुढाथोकी आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्- ‘आजैका मितिदेखि रवि लामिछानेको अभियानमा सहभागी बन्दै युवा आइकन बालेन शाहलाई झापा-५ बाट विजयी बनाउन मेरो निस्वार्थ सहयोग रहनेछ ।’
बुढाथोकीले पार्टी प्रणालीभन्दा व्यक्तिको हुकुममा चल्ने परिपाटी कहिल्यै सुधार हुने संकेत नदेखिएको, देशले मागेको परिवर्तनलाई अस्वीकार गर्दै यथास्थितिवादलाई प्राथमिकता दिइएको र नेताहरूले व्यक्तिगत स्वार्थलाई सर्वोपरि राखेको आरोप लगाउदै कांग्रेसको कार्यशैलीप्रति गहिरो असन्तुष्टि जनाएका छन्।
यस्ता प्रवृत्तिले युवाको देश निर्माण गर्ने अभियानमा बाधा पुगेको उनको भनाइ छ।
बुढाथोकीले आजकै मितिदेखि रास्वपा सभापति रवि लामिछानेको अभियानमा सहभागी हुँदै बालेनलाई झापा-५ बाट विजयी बनाउन निस्वार्थ रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
आजै नेकपा एमालेनिकट युवा संघका दमक अध्यक्ष छवि खतिवडाले संगठन छाडेको घोषणा गर्दै बालेनलाई समर्थन गर्ने बताएका थिए।
यस्तै मंगलबार नेपाली काँग्रेस दमक नगर समितिका सभापति प्रकाश प्रसाईँले पनि बालेन साहलाई सघाउने भन्दै पार्टीको जिम्मेवारीबाट साधारण सदस्य समेत नरहनेगरी राजीनामा दिएका थिए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं ५ बाट मनोनयन दर्ता गराएका छन् । सो क्षेत्रबाट ओलीले निरन्तर जित्दै आइरहेका छन् ।
बालेन शाहको निर्वाचन क्षेत्रमा पर्ने कमल गाउँपालिकाबाट कांग्रेसका जिम्मेवार पदाधिकारी रास्वपामा प्रवेश गरेपछि झापा–५ को चुनावी राजनीति थप रोचक बनेको छ।







