काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले विदेशिएका नेता र व्यवसायीलाई स्वदेश फर्कन आह्वान गरेका छन् ।
बुधबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष ठाकुरले देशमा नयाँ राजनीतिक परिस्थितिको विकास भइरहेकाले अब बाहिर बस्नुपर्ने अवस्था नरहेको बताएका हुन् ।
‘अब देश बाहिर रहने अवस्था छैन, पलायन छोडेर आफ्नो भूमिमा आउनुहोस्, हामी स्वागत गर्छौं,’ उनले भने ।
उनले वर्तमान राजनीतिक नेतृत्व र शक्ति केन्द्रप्रति व्यङ्ग्य गर्दै मुलुकको अवस्था सुधारका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए ।
उनले तीन प्रमुख राजनीतिक दलबीच सहकार्यको वातावरण बनेको उल्लेख गर्दै अब सबै राजनीतिक शक्ति मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
ठाकुरले शेरबहादुर देउवा, आरजु राणा देउवा लगायत विदेशमा रहेका नेता तथा व्यवसायीहरूलाई मातृभूमि फर्किन आग्रह गर्दै भने- ‘हामीले जनताका लागि राजनीति गरेका हौं भने व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नुपर्छ । पहिले समूह र जनताको हित हेर्नुस्, त्यसपछि मात्र व्यक्तिगत लाभका कुरा आउँछन् ।’
राजनीति विशुद्ध रूपमा जनताको सेवाका लागि हुनुपर्नेमा उनको भनाई छ ।







