लोकेन्द्र यादव

राजविराज । सप्तरीको बोदेबरसाईन नगरपालिका–५ स्थित धर्मशालाको तेस्रो तला निर्माणका क्रममा गरिएको छत ढलानमा निर्माण कम्पनीले लापरबाही गरेको भन्दै स्थानीयले गुणस्तरमाथि गम्भीर प्रश्न उठाएका छन्।

पर्यटन विकास कार्यालय लहानको बजेटमा निर्माण भइरहेको उक्त भवनको छत ढलानमा सिमेन्ट, बालुवा र गिट्टीको अनुपात नमिलाइएको, लेभलिङ राम्रोसँग नगरिएको तथा निर्माणस्थलमा योजनासम्बन्धी सूचना पाटीसमेत नराखिएको स्थानीयको गुनासो छ।
स्थानीय श्याम साहका अनुसार छतको ढलान ५ इन्च हुनुपर्ने भए पनि नाप्दा कतै ३ इन्च, कतै २ इन्च र कतै ४ इन्च मात्र भेटिएको छ। उनका अनुसार बीममा १२ एमएमको रड प्रयोग गर्नुपर्नेमा केही स्थानमा ८ एमएमको रड प्रयोग गरिएको देखिएको छ।
बोदेबरसाईन नगर व्यापार संघका प्रतिनिधि राधेश्याम भगतले निर्माण कार्य समयमै सम्पन्न गर्न आफूहरूले पटक–पटक आग्रह गरे पनि आर्थिक वर्षको अन्तिम समयमा हतारमा गुणस्तरहीन ढलान गरिएको आरोप लगाए। उनका अनुसार छतमा गिट्टी बाहिर देखिने, खाल्डाखुल्डी पर्ने तथा भर्‍याङ (सिँढी) मा समेत ८ एमएमको रड प्रयोग गरी करिब ३ इन्च मात्र ढलान गरिएको छ।
धर्मशालाको रेखदेखमा खटिएका कर्मचारी बिल्टु साहले पनि छत ढलानमा सिमेन्टको मात्रा कम प्रयोग गरिएको जस्तो देखिएको बताए। उनका अनुसार छतको सतह सेतो देखिने र बालुवा उड्ने अवस्थाले पनि गुणस्तरमा शंका उत्पन्न गरेको छ।
यता पर्यटन विकास कार्यालय लहानका इन्जिनियर आदित्य पंकजले असार महिनामा बिल फर्छ्योटको चापका कारण निर्माणस्थलमा पुग्न नसकेको बताए। उनले निर्माण कम्पनीले भुक्तानीका लागि कार्यालयमा निवेदन दिएको जानकारी दिए। निर्माण कार्यसम्बन्धी थप विवरण माग्दा भने उनले पछि उपलब्ध गराउने बताए पनि समाचार तयार पार्दासम्म आवश्यक विवरण उपलब्ध गराएका छैनन्।
निर्माणस्थलमै भेटिएका निर्माण कम्पनीका प्रतिनिधि श्यामकुमार दासले छतको ढलान ५ इन्च हुनुपर्ने भए पनि सोअनुसार हुन नसकेको स्वीकार गरेका छन्।
निर्माणस्थलमा सूचना पाटीसमेत नराखिएको र सम्बन्धित कार्यालयबाट विस्तृत विवरण उपलब्ध नभएकाले योजनाको लागत, ठेक्का रकम, निर्माण कम्पनीको नाम तथा अन्य प्राविधिक विवरण खुल्न सकेको छैन।
स्थानीय खगेन्द्र यादवले निर्माण कार्यको प्राविधिक परीक्षण गरी गुणस्तर सुनिश्चित गर्न तथा आवश्यक भए दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। यस विषयमा पर्यटन विकास कार्यालय लहानका कार्यालय प्रमुख नबोनारायण मिश्र संग प्रतिक्रिया लिन खोज्दा उनि सम्पर्कमा आउन चाहेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
5
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको