काठमाडौं । सिंहदरबारको मुख्य प्रवेशद्वारअगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्षसहित सातजना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।
राज्यले आतंक र दमनको नीति अपनाएको आरोप लगाउँदै विरोध प्रदर्शन गरिरहेका बेला प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
अनेरास्ववियुका अनुसार पक्राउ पर्नेमा संगठनका अध्यक्ष दीपक धामी, निर्वाचन आयोग अध्यक्ष जितप्रसाद सिटौला, सचिवालय सदस्य विशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु उपरकोटी र कानुन राष्ट्रिय कमिटी सचिव सुदीप थापा रहेका छन्।
संगठनले सिरिस बुढाथोकी पनि पक्राउ परेको जनाएको छ ।
यसअघि अनेरास्ववियुले सिंहदरबार अगाडि प्रदर्शन गर्दै ‘राज्य आतंक बन्द गर’, ‘गरिब जनतालाई तर्साउन पाइँदैन’, ‘जनतालाई बाँच्न दे’ लगायतका नाराबाजी गरेको थियो।
काठमाडौं । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहभागी चार मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन् ।
राजीनामा दिने मन्त्रीहरूमा आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्री विजया बुढा तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी रहेका छन् ।
उनीहरू २०८१ साल साउनमा मन्त्री नियुक्त भएका थिए। मन्त्रीहरूले संयुक्त रूपमा मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामा बुझाएका छन्। यद्यपि, मुख्यमन्त्रीले हालसम्म राजीनामा स्वीकृत गरिसकेका छैनन्।
मुख्यमन्त्री कँडेल मन्त्रिपरिषद्को बैठकमा व्यस्त रहेकाले राजीनामाबारे औपचारिक निर्णय हुन बाँकी रहेको बताइएको छ।
काठमाडौं । उपसभामुख रुवी कुमारी पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेकी छन्।
संघीय संसद् सचिवालयका अनुसार उनी चीनको न्याङ्ग्ची (निङ्ची) सहरमा असार ३१ गतेदेखि साउन १ गतेसम्म आयोजना हुने पाँचौँ चीन–सिजाङ सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्चमा सहभागी हुन बिहीबार बिहान सिचुआन एयरलाइन्समार्फत चीन गएकी हुन्।
प्रतिनिधिमण्डलमा संघीय संसद् सचिवालयका सचिव डा। रोजनाथ पाण्डे, उपसचिव विमला घिमिरे, उपसचिव नागेन्द्र चौधरी तथा कम्प्युटर प्रोग्रामर अनिशा ढकाल सहभागी छन्।
मञ्चमा उपसभामुख रुवी कुमारीले नेपाली प्रतिनिधिमण्डलका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ।
भ्रमणका क्रममा सिजाङस्थित लिन्ची सहरमा चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ जुनझेङसँग उनको भेटवार्ता पनि तय भएको सचिवालयले जनाएको छ। साथै अन्य उच्चस्तरीय भेटघाटसमेत हुने जनाइएको छ ।
प्रतिनिधिमण्डल भ्रमण सम्पन्न गरी साउन ४ गते नेपाल फर्कने कार्यतालिका रहेको छ ।







