काठमाडौँ । पछिल्लो करिब दुई साताको अवधिमा करिब ३० हजार मेट्रिक टन खाना पकाउने एलपी ग्यास नेपाल भित्रिएको व्यवसायीहरूको दाबी छ। उद्योगीहरूका अनुसार अहिले दैनिक औसत १०० भन्दा बढी ग्यासका बुलेटहरू आयात भइरहेका छन्। तर, कागजी रूपमा आपूर्ति पर्याप्त देखिए पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानका उपभोक्ताहरू अझै पनि ग्यासका लागि डिपोहरूमा लामो लाइन बस्न बाध्य छन्।
काठमाडौँको टेकुस्थित नेपाल आयल निगमको पुरानो कार्यालय परिसरमा दिनहुँजसो खाली सिलिन्डर साट्न आउने उपभोक्ताको भिड लाग्ने गरेको छ। स्थानीय डिपो र पसलहरूमा ग्यास नपाएपछि उपभोक्ताहरू चरम हैरानी भोग्न विवश छन्। ग्यासको आयात र बजारमा देखिएको सास्तीबीचको यो विरोधाभासले अहिले मुख्य प्रश्न उब्जाएको छ– के समस्या ग्यास आपूर्तिको हो, वा वितरण प्रणालीको रु
एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार असार ३१ गतेदेखि यताको १६ दिनको अवधिमा मात्रै करिब ३० हजार मेट्रिक टन ग्यास भित्रिसकेको छ। यही गतिमा आयात जारी रहे साउन महिनाभित्र मात्रै करिब ५० हजार मेट्रिक टनसम्म ग्यास भित्रिन सक्ने उनको भनाइ छ। अध्यक्ष चन्दले भने, ‘असार ३१ गतेदेखि नेपालमा दैनिक बढीमा १२५ वटासम्म बुलेट ग्यास भित्रिएका छन् भने औसतमा १०५ वटासम्म बुलेट आइरहेका छन्।’ सामान्य अवस्थामा नेपालमा दैनिक ८० देखि ९० वटा बुलेट ग्यास पर्याप्त हुने भए पनि अहिले त्योभन्दा धेरै आयात भइरहेको छ।
उद्योगीहरूको दाबी अनुसार अहिले देखिएको मुख्य समस्या ग्यासको कुल आपूर्तिमा कमी आउनु होइन, बल्कि खाली सिलिन्डरको व्यवस्थापन बिग्रिनु हो। १४।२ केजी क्षमताका सिलिन्डरहरू पुनः सहज बन्दै गएपछि लामो समयदेखि थन्किएका खाली सिलिन्डरहरू एकैपटक साट्न आउँदा बजारमा अत्यधिक चाप बढेको उनीहरूको तर्क छ।
ग्यास भण्डारण गर्ने मुख्य माध्यम सिलिन्डर भएकाले बजारमा खाली सिलिन्डर समयमै नफर्किएसम्म सहज आपूर्ति कायम गर्न कठिन हुने अध्यक्ष चन्दले बताए।
यता नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले हालको समस्या ग्यासको अभाव नभई अचानक बढेको मागको व्यवस्थापनसँग जोडिएको बताएका छन्। नेपालमा मासिक करिब ४५ हजार मेट्रिक टन एलपी ग्यास खपत हुने गरेको जानकारी दिँदै उनले हाल खपतअनुसारकै परिमाणमा ग्यास भित्रिरहेको स्पष्ट पारे। प्रवक्ता ठाकुरका अनुसार, ‘फागुनमा ५१ हजार मेट्रिक टन ग्यास आयात हुँदा पनि बजारमा अभाव देखियो, तर त्यसपछि चैતમાં ३८ हजार, वैशाखमा ३२ हजार र जेठमा ३३ हजार मेट्रिक टन आयात हुँदा ठूलो समस्या भएन।’ असारमा करिब ४४ हजार र साउन १५ गतेसम्म मात्रै २६ हजार मेट्रिक टन ग्यास आयात भइसकेको निगमले जनाएको छ।
निगमका अनुसार केही समयअघि उपभोक्ताले ७।१ केजीको सानो सिलिन्डर प्रयोग गर्दा अपेक्षित नतिजा नपाएको गुनासो गरेका थिए। अहिले पुनः १४।२ केजीको सिलिन्डर चलाउन पाइने भएपछि सबै उपभोक्ता एकैपटक बजारमा ओइरिए, जसले गर्दा माग एकाएक अस्वाभाविक रूपमा उचालिन पुग्यो।
बजारका डिलरहरूमा ग्यास नपाएपछि उपभोक्ताको सुविधाका लागि भन्दै नेपाल ग्यास, एभरेस्ट, सुगम, एचपी र श्रीराम लगायतका उद्योगहरूले टेकुस्थित नेपाल आयल निगमको परिसरबाटै प्रत्यक्ष बिक्रीसमेत सुरु गरेका छन्। यद्यपि, निगमले भने आफूले प्रत्यक्ष ग्यास नबेचेको र उपभोक्तालाई सहज बनाउन मात्रै उद्योगहरूलाई आफ्नो स्थान प्रयोग गर्न दिएको प्रस्टीकरण दिएको छ।
तथ्यांकले ग्यासको नियमित आयात देखाइरहे पनि आम उपभोक्ताको अनुभवले बजारमा सास्ती र अभाव कायम रहेको देखाएको छ। यसले नेपालको एलपी ग्यास व्यवस्थापनमा केवल आयात मात्र नभई वितरण प्रणाली, सिलिन्डरको चक्रिय व्यवस्थापन र प्रभावकारी बजार अनुगमनको पाटो पनि उत्तिकै कमजोर रहेको प्रस्ट पारेको छ।







