काठमाडौँ  ।  नेपालस्थित भारतीय दूतावासमा भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ। भारतीय समुदाय, भारतका मित्र, दूतावासका अधिकारी तथा उनीहरूका परिवारको सहभागितामा शनिबार काठमाडौँमा स्वतन्त्रता दिवस समारोह आयोजना गरिएको हो।

कार्यक्रमको सुरुवात ‘वन्दे मातरम्’ गायनबाट भएको थियो। त्यसपछि नेपालका लागि भारतीय राजदूतले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्नुभएको थियो। सो अवसरमा भारतको राष्ट्रिय गान प्रस्तुत गरिएको थियो। त्यसपछि भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले ८०औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा गर्नुभएको सम्बोधन प्रसारण गरिएको थियो।

समारोहमा भारतीय राजदूतले भारतीय सशस्त्र बलका दिवंगत ११ जना कर्मचारीका श्रीमती तथा निकटतम नातेदारलाई सम्मान गर्दै कुल ८ करोड २० लाख नेपाली रुपैयाँ बराबरको एजीआईएफ (आर्मी ग्रुप इन्स्योरेन्स फण्ड) चेक हस्तान्तरण गर्नुभएको थियो।

त्यस्तै, ८०औँ स्वतन्त्रता दिवसका अवसरमा दूतावासले आयोजना गरेका विभिन्न प्रतियोगिताका विजेतालाई पनि सम्मान गरिएको थियो। प्रतियोगितामा ‘विकसित भारत’ विषयमा आधारित चित्रकला प्रतियोगिता, विकसित भारत दौड तथा अन्तर–विद्यालय हाजिरीजवाफ प्रतियोगिता समावेश थिए। कार्यक्रममा ‘भारत को जानिए’ हाजिरीजवाफ प्रतियोगिताको विशेष संस्करणका विजेतालाई समेत सम्मान गरिएको थियो।

दूतावासले नेपालका सातै प्रदेशमा रहेका २२ वटा शैक्षिक संस्था तथा पुस्तकालयका लागि पुस्तक अनुदान प्रदान गर्ने घोषणा पनि गरेको छ। यस पहलमार्फत शैक्षिक स्रोतमा पहुँच विस्तार गर्ने लक्ष्य राखिएको दूतावासले जनाएको छ।

समारोहमा काठमाडौँस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका शिक्षक तथा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति र देशभक्तिपूर्ण गीत प्रस्तुत गरेका थिए। भारतीय स्वतन्त्रता दिवस समारोहमा नेपालमा रहेका भारतीय समुदाय तथा भारतका मित्रहरूको उत्साहजनक सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको