राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिका–३ स्थित ट्राफिक चोकमा दुई वर्षीया बालिकाको हत्या गरेको आरोपमा उनकी सौतेनी आमा पक्राउ परेकी छन्।
आइतबार बिहानदेखि हराइरहेकी खुसी खातुन दिउँसो घर पछाडिको झाडीमा मृत अवस्थामा फेला परेकी थिइन्। बालिका घरअगाडि खेलिरहेका बेला अचानक हराएपछि परिवारजनले खोजी गरेका थिए। नभेटिएपछि उनीहरूले इलाका प्रहरी कार्यालय रुपनीलाई जानकारी गराएका थिए।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले बालिकाकी सौतेनी आमा मुस्कान खातुनलाई नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार मुस्कानले अनुसन्धानका क्रममा बालिकाको हत्या गरेको स्वीकार गरेकी छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक (एसपी) रुपक खड्काका अनुसार मुस्कान र बालिकाकी आमा रुबिना खातुनबीच केही समयदेखि बोलचालसमेत बन्द रहेको खुलेको छ। प्रारम्भिक बयानमा मुस्कानले रुबिनासँगको विवादका कारण बालिकाको हत्या गरी घर पछाडिको झाडीमा शव फालेको बताएकी छन्।
एसपी खड्काले घटनाबारे थप अनुसन्धान भइरहेको र पक्राउ परेकी मुस्कानलाई सोमबार अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाउने तयारी भइरहेको जानकारी दिए।
प्रहरीका अनुसार बालिका आइतबार बिहान करिब पौने १० बजेसम्म पूर्व–पश्चिम राजमार्ग छेउमा रहेको घर अगाडि खेलिरहेकी थिइन्। त्यसपछि उनी अचानक बेपत्ता भएकी थिइन्।
बालिकाको शव पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ। उनका बुवा वैदेशिक रोजगारीमा रहेको बताइएको छ। घटनाको कारण र अन्य पक्षबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।







