काठमाडौं । सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद्बाट प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
उनका अनुसार विपद्बाट प्रभावित जिल्लाका स्थानीय तहलाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो ।
उनले भने,‘विपद्बाट प्रभावित जिल्लाका स्थानीय तहहरूलाई तीन महिनाका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।’
आज आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायतका जिल्ला प्रभावित भएका छन् । बाढीका कारण विभिन्न स्थानमा जनधन तथा भौतिक संरचनामा क्षति पुगेको छ ।
सरकारले विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन संकटग्रस्त क्षेत्र घोषणा गरेको जनाएको छ ।







