राजविराज । रसुवा जिल्लामा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतीश कुमार सिंहले गहिरो दुःख व्यक्त गरेका छन्।
पूर्वमुख्यमन्त्री सिंहले विपद्मा परी ज्यान गुमाउने नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। उनले बाढीपहिरोमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।
बाढी तथा पहिरोका कारण थुप्रै परिवार घरबारविहीन भएको र ठूलो मात्रामा जनधनको क्षति भएको भन्दै सिंहले विपद्को यस कठिन घडीमा पीडित परिवारको दुःखमा साथ दिन सबैको कर्तव्य भएको बताएका छन्।
उनले नेपाल सरकार, गृह मन्त्रालय तथा स्थानीय प्रशासनलाई प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन आग्रह गरेका छन्। साथै विस्थापित परिवारलाई तत्काल खाद्यान्न, सुरक्षित आवास तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन अपिल गरेका छन्।
घरबारविहीन भएका नागरिकलाई उचित क्षतिपूर्ति उपलब्ध गराउँदै सुरक्षित स्थानमा तत्काल पुनर्स्थापना गर्नुपर्नेमा जोड दिँदै सिंहले बाढीपहिरोबाट क्षतिग्रस्त सडक, पुल तथा सञ्चार सेवा यथाशीघ्र सञ्चालनमा ल्याउन पनि माग गरेका छन्।
विपद्को समयमा राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सम्पूर्ण राजनीतिक दल, सामाजिक संघ–संस्था, युवा तथा आम नागरिकलाई एकजुट भएर सहयोग गर्नसमेत पूर्वमुख्यमन्त्री सिंहले आह्वान गरेका छन्।







